बिदाइ खेलमा च्यासल पराजित

File photo
File photo

दोस्रो डिभिजनमा घटुवा भइसकेको च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि पराजित भएको छ। बिहीबार भएको अन्तिम चरणको खेलमा च्यासल सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भयो। 

लगातार तेस्रो पटक लिग खेलिरहेको च्यासल दुई खेल अगावै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ। हारसँगै च्यासलले १३ खेलबाट ६ अंक जोड्दै लिग पूरा गरेको छ। च्यासलले लिगमा एक जित, तीन बराबरी र नौ खेलमा हारको नतिजा निकाल्यो। अन्तिम स्थानमा रहेको च्यासलसँगै ब्रिगेड ब्वाइज दोस्रो डिभिजनमा घटुवा भएको छ।

च्यासलमाथिको जितसँगै सातदोबाटो भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगका १३ खेलमध्ये ६ मा जित, तीनमा बराबर र चार खेलमा पराजयको नतिजा आत्मसाथ गर्यो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको छैठौँ मिनेटमा अजयी मार्टिन्सले गरेको गोल नै सातदोबाटोको जितका लागि पर्याप्त बन्यो। मिडफिल्डर सुदीप गुरुङले मैदानको बीच भागबाट दिएको पासमा अजयीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गरेका थिए।

जारी लिगको मार्टिन्सको यो छैठौँ गोल हो। साविक विजेता मछिन्द्र फुटबल क्लबले ११औँ चरणमा सातदोबाटोलाई पराजित गर्दै लिगको उपाधि रक्षा गरेको थियो।
 
 

प्रकाशित मिति: : 2022-02-24 15:22:00

प्रतिकृया दिनुहोस्