कोभिड प्रभावित परिवारलाई सरकारी राहत वितरण

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
File photo
File photo

सरकारद्वारा काभ्रेपलाञ्चोकका कोभिडबाट प्रभावित अतिविपन्न परिवारलाई पठाइएको राहत सहायता रकम वितरण थालिएको छ। 

राहत वितरण कार्यविधिअनुसार कोरोना प्रभावित प्रतिपरिवारलाई रु १० हजारका दरले राहत सहायता रकम वितरण थालिएको हो। 

पनौती नगरपालिका र नमोबुद्ध नगरले लक्षित परिवारलाई वितरण सकेको छ भने अन्य स्थानीय तह वितरणको तयारीमा छन्। 

पनौती नगरमा ४१७ परिवारलाई रु ४१ लाख ७० हजार तथा नमोबुद्ध नगरका ४८४ परिवारलाई रु ४८ लाख ४० हजार रकम वितरण गरिएको हो। 

राहत रकम प्रतिपरिवार रु १० हजारका दरले वितरण गरिसकिएको नगर उपप्रमुख गीता बञ्जाराले जानकारी दिए। सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको थियो।

वर्तमान सरकारको प्रतिस्थापन बजेटमा घोषणा गरिएअनुसार गत कात्तिकमा उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित गरिएको थियो।

सोहीअनुसार देशभरका करिब पाँच लाख अतिविपन्न परिवारसँगै काभ्रेपलाञ्चोकको पाँच हजार ३०३ परिवारलाई राहत वितरण गर्न गत मङ्सिरमा राहत रकम पठाइएको थियो। 

सरकारको दशैँअघि वितरण गर्ने योजना यससम्बन्धी विधेयक पारित भई कार्यविधि नबन्दा तथा कारोना सङ्क्रमणको तेस्रो लहरका कारण केही महिना रोकिएको थियो।

काभ्रेपलाञ्चोकको छ नगरपालिका र सात गाउँपालिकाको पाँच हजार ३०३ परिवारलाई राहत रकम दिइने गत कात्तिकमा प्रकाशित राजपत्रमा उल्लेख गरिएको थियो। 

जसअनुसार बनेपा नगरका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखाल ४७१, नमोबुद्ध ४८४ र मण्डनदेउपुरका ५८७ तथा चौँरीदेउराली गाउँपालिकाको ४८२, भुम्लुको ४०७ तेमाल ४२२, बेथानचोक २४०, रोशी ४५०, महाभारत २८८ र खानीखोला गाउँपालिकाको २११ परिवारलाई कोभिड–१९ प्याकेज शीर्षकको राहत रकम प्रदान गरिँदैछ।

बनेपा नगर र धुलिखेल नगरले राहत रकम वितरणको तयारी भइरहेको जनाएका छन्।

'कोभिड प्रभावित परिवारलाई छिट्टै राहत रकम वितरणको तयारी भइरहेको छ' धुलिखेलका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले भने।

मन्त्रालयका अनुसार मण्डनदेउपुर नगरमा रु ५८ लाख ७० हजार, पाँचखालमा ४७ लाख, धुलिखेलमा ३५ लाख, बनेपामा ५० लाख ९० हजार तथा भुम्लु गाउँपालिकामा ४० लाख, रोशीमा ४५ लाख, तेमालमा ४२ लाख, महाभारतमा २८ लाख ८० हजार, चौरीदेउरालीमा ४० लाख, खानीखोलामा ३५ लाख र बेथानचोक गाउँपालिकामा रु २४ लाख राहत रकम आएको हो।

सरकारले यसलाई गरिबलक्षित सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको जनाएको छ। 

सरकारी कार्यविधिअनुसार कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण पेशा–व्यवसाय वा श्रम गर्ने अवसर गुमाएका र आर्थिकरूपमा अतिविपन्न नागरिकले विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असङ्गठित क्षेत्रको मजदुर वा कामदारलाई यो रकम दिइएको हो। 

साथै खुला सडक, फुटपाथ, नाङ्लो पसल सञ्चालन गर्दै आएका, अतिविपन्न व्यवसायी र दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाढा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियाले समेत यो राहत रकम पाउने कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा कोभिड–१९ का कारण एकाघरको परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत उक्त रकम पाउनेसमेत उल्लेख छ। 

तर नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्गता वा नेपाल सरकार र विदेशी सरकारको निवृत्तिभरण) पाउने परिवारले यो रकम दाबी गर्न नपाउने जनाइएको छ।

सहायता रकम प्राप्त गर्न सार्वजनिक सूचना जारी भएको १५ दिनभित्र स्थानीय वडा कार्यलयमा आवश्यक कागजातसहित निवेदन गर्नुपर्ने नियम छ। सहायता रकम वडाबाटै उपलब्ध हुने पनि जनाइएको छ। 

नगदवापत नेपाल सरकारको न्यूनतम दैनिक ज्यालादारका आधारमा हुने आउने न्यूनतम कार्यदिन बराबर कुनै सार्वजनिक विकास निर्माणको आयोजना स्वयंसेवकका रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ।
 

प्रकाशित मिति: : 2022-02-26 18:45:00

प्रतिकृया दिनुहोस्