डलर होइन, स्वाभिमान रोजौँ: माओवादी केन्द्र (मधेश प्रदेश)

माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ।

एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्तविरोध गर्ने निर्णय गरेको हो।

बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्‍बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्‍बाट पास गर्न सकिँदैन।'

एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ।

प्रकाशित मिति: : 2022-02-26 21:40:00

प्रतिकृया दिनुहोस्