एमसीसीविरूद्ध भोलि नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत ६ राजनीतिक दल र दुई मोर्चाले भाेलि (साेमबार) नेपाल बन्दको घोषणा गरेका छन्।

प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमाेदनकाे तयारी थालिएकाे भन्दै नेपाल बन्दकाे घाेषणा गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय गरेकाे नेकपाका नेता रामलाल विश्वशर्माले जनाकारी दिए। 

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन्।

यी समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ। आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ।

प्रकाशित मिति: : 2022-02-27 20:01:00

प्रतिकृया दिनुहोस्