'एमसीसीकाे व्याख्यात्मक घाेषणामा नेपाल र अमेरिकाकाे बुझाइ समान छ'

File Photo
File Photo

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्याे आशंका दूर भएकाे उनले बताए। एमसीसीबारे नेपाल र अमेरिकाकाे बुझाइ समान रहेकाे उल्लेख गरे।

‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ। एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन्। यो विशुद्ध आर्थिक सहायता हो। यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन। जुन भ्रम थियाे त्याे अब दूर भएकाे छ। अब यसलाई नेपालकाे आर्थिक विकासमा लगाउनुपर्छ।’

विदेशी सहयोगलाई लिएर नेपाली कांग्रेसको फरक फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतले बताए। उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताए।

संसद्ले एमसीसीलाई अपनत्व गरेकाे भन्दै त्यसलाई अब सदुपयाेग गर्नेतिर लाग्ने उनले बताए। महतले एमसीसी अनुमाेदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिए।

प्रकाशित मिति: : 2022-02-28 16:28:00

प्रतिकृया दिनुहोस्