अलपत्र माछापुच्छ्रे प्रतिबिम्ब पार्क 

आकाश छ्याङ खुलेको दिन माछापुच्छ्रेले फेवातालमा डुबुल्की मार्छ। यो मोहक दृश्यले मन नलोभ्याउने सायदै को होला र ? 
गीतै छ,

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ 
पोखरा त साँच्चिकैको पोखरा नै रैछ।

हो, ड्यामसाइड किनारबाट देखिने यो दृश्यलाई धित मरुञ्जेल हेर्न पनि पाइने।

त्यति मात्रै होइन, नेपालको ८० फिट अग्लो झण्डाको प्रतिबिम्ब पनि फेवातालमा हेर्न पाइने। बाल उद्यान, पेभिलियन खुल्ला व्यायामस्थल लगायतका अनेक संरचना तयार पारेर पर्यटकलाई भुलाउन अर्को पर्यटकीय गन्तव्य बनाउने योजनाअनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारले माछापुच्छ्रे प्रतिबिम्ब पार्कको काम अघि बढाएको थियो। यद्यपि, एक चौथाई पनि काम हुन नपाउँदै पार्कको काम अलपत्र परेको छ।

वरिपरि हिँड्ने पेटी र केही रुख ढलाउने बाहेक माछापुच्छ्रे प्रतिबिम्ब पार्कको काम अघि बढ्न सकेको छैन। २०७६ वैशाख १६ गते पोखरा– १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानी गर्ने गरी माछापुच्छ्रे प्रतिबिम्ब पार्कको शिलान्यास गरिएको थियो।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तत्कालीन पर्यटन मन्त्री विकास लम्साल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले आधा–आधा खर्च ब्यहोर्ने गरी पार्कको शिलान्यास गरेका थिए। पार्कको शिलान्यास गर्दै महानगर र प्रदेश सरकारका कार्यकारीले एक स्वरमा भनेका थिए, प्रदेश सरकार र महानगर सँगसँगै छ।

पोखरा महानगर र प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आधा–आधा खर्च ब्यहोर्ने गरी करिब ४ करोड लगानीमा बनाउने भनिएको पार्कको पहिलो चरणको कामका लागि ४५ मिटर पर्खाल निर्माण गर्ने, जग्गा सम्याउने, पार्कभित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजार रुपैयाँमा पोखरा १७ कै बिनु कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। पहिलो चरणको काम सकिएपछि भने पार्कका लागि बजेट नै विनियोजन गरिएन। लेउ जम्न लागेका पैदल मार्ग र असरल्ल छरिएका रुखका जरा देखेर पनि भन्न सकिन्छ, पार्क निर्माणको थप काम यसै अलपत्र छ।

ड्याम साइड क्लबका निर्वतमान अध्यक्ष तथा माछापुच्छ्रे प्रतिबिम्ब पार्क कार्य समिति संयोजक स्थानीय पदम ढकालले हाल डिभिजन वन कार्यालयको आर्थिक सहयोग साथै क्लब र उपभोक्ता समितिको पहलमा केही काम सुरु हुन लागेको बताए। डिभिजन वन कार्यालयको ९ लाख ४७ हजार संस्थाले १ लाख ३२ हजार रुपैयाँ उपभोक्ता समिति र क्लबले केही काम गरेको उनले सुनाए।

नेपाल पर्यटन बोर्ड, स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर २६ लाख ४७ हजार रकमको काम सुरु हुन लागेको उनले सुनाए।

‘हाम्रै सक्रियतामा यसको संरक्षण गर्ने गरी काम अघि बढाउन लागेका छौं। ०७६ वैशाखमा विधिवत उद्घाटन भयो। केही काम ठेकेदारको कमजोरीले ढिला भयो,’ उनले भने, ‘पछि बजेट नै विनियोजन भएन। क्लबले नै सम्बन्धित निकायलाई हारगुहार गरेर काम अघि बढाउन लागेका छौं।’

०७७/७८ मा वन कार्यालयको आर्थिक सहयोग आएपछि केही काम गरेको उनले सुनाए। अहिले बजेट नभएर पर्यटन बोर्डसँग सहयोगका लागि कुराकानी भएको उनले बताए। सिँगो योजनाको एक भाग काम सक्न आफूहरु लागि परेको उनले सुनाए।

स्थानीय संस्थाले नै जिम्मा लिनुपर्छ भनेर स्थानीय सरकारले भनेकाले पार्क निर्माणका लागि पहल थालिरहेको उनले बताए। जिल्ला सिँचाई कार्यालयको स्वामित्वमा रहेको जग्गामा सानो मन्दिर पनि छ। टुरिजमको एकदमै सम्भावना भएको उक्त ठाउँमा ८० फिटको झण्डा ठड्याउने योजना तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको थियो। 

‘गण्डकी प्रदेशमा कही पनि छैन भनेर तत्कालीन मुख्यमन्त्रीले भनेर तत्कालीन मुख्यमन्त्रीले भन्नु भएको थियो,’ उनले भने। 

सोफिया गुरुङ र किसानसिंह गुरुङले नक्सा बनाउँदा करिब ४ करोड खर्च अनुमान गरिए पनि अहिले खर्च बढ्ने अनुमान उपभोक्ता समितिले गरेको छ।

‘आजभन्दा तीन वर्ष अघिको खर्च अनुमान हो। अहिले खर्च बढ्न सक्छ। तीन वर्षमा त पहिलेको रेट र अहिलेको फरक पर्न जान्छ,’ उनले भने।

वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी नेपालको सार्वजनिक खरिद ऐन र ठेकेदारको कारण काम रोकिएको बताउँछन्।

‘ठेकेदारले काम अलपत्र पारेको हो। अर्को ठेक्का रोकियो। राम्रो काम गरेन,’ उनले भने, ‘ठेक्का घटेर हाल्यो। फाइदा नहुने भएपछि लिंगरिङ गरेको। अर्को बजेट पनि रोक्यो त्यसले।’

वडा नम्बर १७ मा डेभिजफलबाट पावरहाउस जाने फास्ट ट्रयाकको काम सोही कम्पनीले जिम्मा लिए पनि अहिले कामै रोकिएको उनले सुनाए।

‘हामी त साह्रै अप्ठ्यारोमा परेका छौं। केही काम उसले गरेको छ। त्यो काम पनि समयमा नसकेकाले काम समयमा नसकिदा रकम विनियोजन हुन सकेको छैन,’ उनले भने।

आफ्नो वडाको काम फुकाइदिन कार्यपालिकामा बारम्बार कुरा उठाई रहेको उनले सुनाए।

पार्कको लागि १ करोड ८ लाख रुपैयाँको महानगरले टेण्डर निकालेले पनि ठेकेदार कम्पनीले ७६ लाख २७ हजार मा टेण्डर लिएको थियो। उपभोक्ता मार्फत् ड्यामसाइड क्लबले काम गरिरहे पनि पहिलो चरणको काममै दातमा ढुंगा लागेको उनको भनाई छ। अहिले प्रदेशले पनि हात झिक्यो। महानगर पनि निश्क्रिय भयो। प्रदेश सरकार र महानगरले कुनै चासो नै देखाएका छैनन्।

अहिले रेखदेख र संरक्षणका लागि ड्यामसाइड क्लबलाई नै रेखदेख गर्ने जिम्मा दिएको वडाध्यक्ष अधिकारीले सुनाए। ‘वडास्तरको पैसा पनि दिन्छौं भनेर आगन्तुक पर्यटकलाई रेखदेख गरिदिनुस् भनेर भनेका छौैं,’ उनले भने।

प्रकाशित मिति: : 2022-03-03 19:35:00

प्रतिकृया दिनुहोस्