कमरेड बाबाको र्‍याइँर्‍याइँ

अनलाइनखबर

प्रकाश तिवारी

राम मन्दिर नजिकैको सत्तलमा एकजना जेष्ठ नागरिक देखिन्छन्। हेर्दा सत्तरी आसपास पुगेजस्ता। शरीरमा पीत वस्त्र। लामा जटा, लामै दाह्री। हातमा एकतारे बाजा। उनको एकतारेबाट एउटै ध्वनि निस्किन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ।

बाबालाई झरी बादलले छुँदैन। कस्तै हृदयविदारक घटनाले पनि उनको मन रुँदैन। अलिअलि निर्दयी जस्ता। धेरथोर लहडी जस्ता। निधारमा चरुभष्म लेपन। खुट्टामा घुँघरुको खनखन। कतिपय भन्छन्- उनी तेस्रोलिङ्गी हुन्। पहिरन पनि अनौठो छ उनको। कहिले उनी पहेँलो लवेदा सुरुवालमा भेटिन्छन् त कहिले पहेँलै गुन्युचोलोमा देखिन्छन्।

केही वर्षअघिसम्म बाबा आत्मकथा लेख्ने मुडमा थिए। आधाआधी लेखे पनि। अहिले भने उनको विचार बदलिएको छ। जब मस्कोबाट नेपाल फर्किए, बाबा हरदम एकतारेको धुनमा निमग्न रहन्छन्। उनी आसपासको वातावरणमा एउटै ध्वनि गुञ्जिरहन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ !

प्रकाशित मिति: : 2022-03-05 15:00:00

प्रतिकृया दिनुहोस्