फेवा ताल हडपेर रेष्टुरेन्ट, महानगर बन्यो मुकदर्शक

दिनभरको थकान मेट्न साँझपख पोखरेलीहरु तालतिर निस्किन्छन्। धुलो, धुवाँ, ट्राफिक र कामको प्रेसरलाई एकैछिन भए पनि फेवाताल किनारतिर टहलिँदा शितल मिल्छ। पोखरा घुम्न आउने घुमन्तेका लागि पनि पहिलो रोजाई हो, फेवाताल।

तर, त्यही शान्त ताल किनारको फुटट्रयाक समेत अहिले अशान्त बनेको छ। रेष्टुरेन्ट व्यवसायीले ताल छेउसम्मै टेबुल, कुर्सी राखेर व्यापार थालेका छन्। पैदल यात्रुलाई बाधा पुग्ने गरी ताल छेउमा यस्तो मनमौजी हुँदा समेत महानगर मौन छ।

ताल किनारसम्मै टनाटन राखिएका टेबल, कुर्सी र धुँवाका मुस्लोले पैदल यात्रुलाई हिंड्न समेत बाधा पुगेको छ। शान्त ठाउँ खोज्दै ताल किनार पुगेका पोखरेली अचेल ताल किनारसम्मै व्यवसायीले कब्जामा लिएपछि हैरानी बेहोर्नु परेको छ।

शनिबार बेलुकी फेवा किनारमा भेटिएका पोखरा-१५ का पैदलयात्री साकार गुरुङले फेवा किनारमा शान्ति खोज्दे आउँदा झनै कोलाहल बनेको गुनासो गरे। ‘झन पिस हुन्छ भन्दै यहाँ आएको, यस्तो होहल्ला बढेको छ। साना फुटपाथे व्यवसायीले भरिएको छ,’ उनले भने।

फेवातालको ६५ मिटर मापदण्ड कायम गराउन चुकेको महानगर, फुटट्रयाक व्यवस्थित राख्न चुकेको छ। व्यवसायी ज्याक तामाङले व्यवसाय गरे पनि व्यवस्थित हुनुपर्ने भनाई राख्छन्। ‘व्यवसाय गर्न त पाउनु पर्यो। तर, अलि व्यवस्थित हुनुपर्छ। पैदल यात्रुलाई हिंड्न पनि समस्या हुने गरी गर्नु त भएन,’ उनले भने।

ताल छेउमा मासु पोलेको धुँवाको मुस्लोले पैदल यात्रुलाई समस्या पारेको उनको भनाई थियो। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई पनि ताल किनार पैदल यात्रुका लागि व्यवस्थित हुनुपर्ने मत राख्छन्। राज्यले मापदण्ड तय गर्न नसक्दा यो समस्या आएको उनको भनाई छ।

‘पब्लिकको नाममा लालपुर्जा छ, सरकारले ब्युटिफिकेसनका लागि लामो समयसम्म केही पहल नगर्दा कतिले संरचना बनाएर व्यवसाय गरेका छन्, धेरैले भाडामा पनि लगाएका छन्,’ उनले भने, ‘यही अवस्थाले पोखराको ब्युटिफिकेसन हुन सक्दैन। पोखराको ब्युटिफिकेसनका लागि कति जग्गा चाहिने हो, सरकारले मापदण्ड बनाउनुपर्छ।’

सरकार मापदण्ड बनाउन उदासिन हुँदा यस्तो समस्या आएको उनको भनाई छ। सार्वजनिक जग्गा समेत धमाधम कब्जा भइरहँदा व्यक्ति स्वयमको नाममा रहेको लालपुर्जा प्रयोग हुन सक्ने उनको भनाई छ।

यता पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली यसरी ताल किनारमै टेबल, कुर्सी राखेर व्यापार गर्नु गलत रहेको बताउँछन्। ‘याे एकदमै गलत छ। यसरी फुटट्रयाक नै कब्जामा लिएर पैदल यात्रुलाई समस्यामा पार्नुहुन्न,’ उनी भन्छन्।

यसरी अव्यवस्थित फुटट्रयाक कहिलेसम्म व्यवस्थित बनाउनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा महानगर नियमित कर्म अनुसार लागि पर्ने उनले बताए।

लामो समयदेखि विवादित फेवाताल मापदण्डले यो समस्या निम्त्याएको जान्दाजान्दै पनि महानगर मौन छ। महानगर कमजोर बन्दा फेवाताल किनारमा शान्ति खोज्दै आउने पैदल यात्रुले हैरानी बेहोर्नु परिरहेको छ।

प्रकाशित मिति: : 2022-03-06 18:01:00

प्रतिकृया दिनुहोस्