दक्षिणी झापाकाे पुरानो बजार सडक पेटीमा !

झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रकाे सबैभन्दा पुरानाे बजार हालसम्म पनि व्यवस्थित हनु सकेकाे छैन। जुराेपानी बजार यस क्षेत्रकाे पुरानाे बजार भएपनि अहिलेसम्म ठाउँको अभावमा सडक पेटीमा सिमित रहेकाे छ।

बजारका लागि ठाउँको व्यवस्थापन गरी स्थानान्तरण वा व्यवस्थित गर्न कसैकाे ध्यान पुगेकाे देखिँदैन। साबिक जुराेपानी गाविसभित्रका ६ वटा बजारमध्ये जग्गा नभएकाे जुराेपानी बजार हाे।

जुराेपानी बजार सडक पेटीमा भएपनि हप्तामा २ दिन आइतबार र बिहीबार लाग्ने गर्दछ। जुराेपानी बजार दक्षिणी क्षेत्रकै पुरानाे बजार भएपनि अवस्था भने अहिलेसम्म अस्तव्यस्त छ।

जुराेपानी चाेकमा बजार स्थापना भएर सञ्चालन हुँदा यस क्षेत्रमा अन्य कुनैपनि बजार नभएकाे स्थानीय राम प्रसाद राजवंशी बताउँछन्। जुराेपानीमा बजार सञ्चालन हुँदा नाम नै कायम नभएका ठाउँमा स्थापना भएका बजारले अहिले फड्को मारिसकेका छन्।

झापा जिल्लामा पुरानाे बजारका रुपमा परिचित गौरीगञ्ज बजार भन्दापनि जुराेपानी बजार पहिलेदेखि लाग्दै आएकाे स्थानीय बुढापाकाकाे भनाइ छ।

बजार व्यवस्थापनकाे पक्षमा सम्बन्धित निकायकाे ध्यान पुग्न नसक्दा बजारकाे अवस्थामा परिवर्तन आउन सकेकाे छैन। जुराेपानी बजारमा हाटकाे दिन बाह्य व्यापारीहरु आउँदैनन्। स्थानीय स्तरमा उत्पादन भएका सागसब्जीहरु बिक्री गर्न स्थानीय व्यापारीहरु आउने गरेका छन्।

हाट लाग्ने दिन स्थानीय ग्राहकहरु सागसब्जी खरिद गर्न आउने गरेका छन्। केही वर्ष अगाडि जुराेपानी बजार अरुणाेदय विद्यालय प्राङ्गणमा साँझपख लाग्दा निकै भिडभा हुने गरेकाे स्थानीय लालबहादुर गुरुङ बताउँछन्।

विद्यालयले आफ्नो क्षेत्र घेराबार गरेपछि बजार सडकमा लाग्न थालेकाे हाे। बजार सडक पेटीमा सरेपछि अन्य ठाउँका व्यापारीहरु आउन छाेडेकाे र बजार घटेकाे गुरुङकाे भनाइ छ।

जुराेपानी पुरानाे बजार भएपनि पछिल्लो समय आसपासका बजारले फड्को मारेपछि याे बजार चेपिएकाे जनप्रतिनिधिसमेत रहेकी सीतामाया गुरुङ बताउँछिन्।

नजिककाे दुरीमा गौरीगञ्ज र ग्वालडुब्बा बजार रहेकाले जुराेपानी बजारले फड्काे मार्न नसकेकाे उनकाे भनाइ छ। बजार स्थानान्तरण र व्यवस्थापनका लागि स्थानीय सरकारले पहल गरिरहेकाे वडा नं. ८ का वडाध्यक्ष भुमिराज पाेख्रेल बताउँछन्।

बजार स्थानान्तरणका लागि जुराेपानीमा मखना महत्ताेकाे घडेरी प्लटिङमा जग्गा व्यवस्थापन भइसकेकाले अन्य ठाउँमा विकल्प नखाेजिएकाे वडाध्यक्ष पाेख्रेलकाे भनाइ छ।

बजारकाे लागि छुट्याइएको जग्गा बजारका नाममा पास भएमा स्थानीय सरकारले टहरा निर्माण तथा बजार स्थानान्तरणकाे प्रक्रिया अगाडि बढाउने वडाध्यक्ष पाेख्रेल बताउँछन्।

घडेरी प्लटिङकाे ठाउँमा बजारकाे लागि जग्गा छुट्याइएको भएपनि गौरादह नगर कार्यपालिकाले निर्णय नगरेकाले आफूले बजारका नाममा जग्गा पास नगरेकाे मखना महत्ताे बताउँछन्। नगर कार्यपालिकाले निर्णय गरेर पत्र दिएमा बजारका नाममा जग्गा पास गरिदिन आफू तयार रहेकाे महत्ताेले बताए।

बजार व्यवस्थापनका लागि महत्ताे र स्थानीय सरकारबीच तालमेल मिल्न नसक्दा बजार स्थानान्तरणमा ढिलाइ भएकाे स्थानीय नगेन्द्र केसी बताउँछन्। स्थानीय सरकारले जग्गा दातासँग पहल गरी आवश्यक प्रक्रिया पुरा गरेर बजार स्थानान्तरण गर्नुपर्ने केसीकाे भनाइ छ।

प्रकाशित मिति: : 2022-03-09 13:50:00

प्रतिकृया दिनुहोस्