कांग्रेसले देशको अर्थतन्त्र ध्वस्त बनाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गरेको एउटा पनि काम देखाउन लायक नभएको बताएका छन्।

उनले कांग्रेसकाे जिन्दगाीमा देखाउन योग्य एउटै काम नभएको बताए। कामको आधारमा कांग्रेसको बोल्ने ठाउँ समेत नरहेको बताए।

कांग्रेसले देशको अर्थतन्त्र ध्वस्त बनाउने काम मात्र गरेको बताए। आज मोरङको रंगेलीमा आयोजित जनसभा एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारले गरेको काम हरेक वडादेखि पालिकासम्म देखिने बताए।

आफ्नै पार्टीका नेता र सांसद सरकारलाई ढालेर अस्थिरता निम्त्याउन लागेपछि संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए।

एमालेले अदालतबाट न्याय पाउन नसकेको भन्दै यसको फैसला अब जनताले गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले एमालेलाई अहिले हाइसन्चो भएको बताए। एमाले चोइटिए पनि कुनै असर नभएको उनले दाबी गरे।

ओलीले भने, ‘पिलो निचोरिएको जस्तो भएको छ। एमालेमा आकर्षण बढ्दै गएको छ।’

अध्यक्ष ओलीले माओवादी पार्टी नभएर अन्योलको पोको भएको बताए। उनले माओवादी पार्टी नै नभएकाले नअल्मलिइ एमालेमा आउन आग्रह गरे।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका थिए।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू नेकपा माओवादी केन्द्रबाट विजयी बनेका थिए।

मेयर बगडिया र उपमेयर खरालसहितलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित मिति: : 2022-03-09 15:48:00

प्रतिकृया दिनुहोस्