कवि अमृत क्षेत्रीको ‘एकान्त भीड’ लोकार्पण

कवि अमृत क्षेत्रीको कविता संग्रह एकान्त भीड शनिबार पोखरामा लोकार्पण भएको छ। 

एक समारोहको बिच उनको कविता संग्रह लोकार्पण गरिएको हो।

कवि अमृत भारतीय सेना निवृत सिपाही हुन्। १६ वर्ष एक महिना सेवा गरेर सेवा निवृत भएका अमृत भारतीय सेनामा भर्ति भए पनि उनले अरुले जस्तो बन्दुक समाउनु परेन। आइटी सेक्टरमा परे। त्यहाँ उनले प्रशस्त लेख्ने पढ्ने मौका पाए।

‘धेरै कविताहरु कवि अमृतले आइटी सर्भर रुममै फुराए। कति यादमा छन्, कति कापीका पानामा छन्, कति सामाजिक सञ्जालको भित्तामा,’ किताब लोकार्पणपछि बोल्दै उनले भने। 

धेरै जसो कविता सिर्जना सामाजिक सञ्जालमै सार्वजनिक गर्ने गरेका कवि अमृत साथीहरुले किताबको स्वरुप दिन भनेपछि कविता संग्रह निकालेको बताउँछन्। 

आफ्ना सिर्जनालाई कृतिकै रुपमा लैजाने नै सोचिसकेपछि त्यसमा सहयोग गरे, कवि चन्द्रवीर तुम्बापो, कृष्ण बोहोरा यात्रीलगायतको सहयोगपछि एकान्त भीड जन्मिएको उनले बताए। 

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती श्रेष्ठ ‘सरु’, दीपक समीप, सञ्जीप पौडेल लगायतले कवि अमृत क्षेत्रीको नवीनतम् कविता संग्रह विमोचन गरेका हुन्।

कृति विमोचनपछि साहित्यकार सरुभक्तले नेपाली साहित्याकासमा एक शालिन कविको सशक्त कविता पर्दार्पण भएको बताए।

कविता लोकार्पण गर्दै उनले भने, ‘कवितालाई सीमामा बाँध्ने हुँदैन। यो स्वतन्त्र हुने भएकाले पनि कवि शाश्वत र सर्वभौम छ, कविका कविताले नयाँ जीवनजस्तै विरोधाभाष दर्शनको खोजमा छ।’

साहित्यकार तीर्थ श्रेष्ठ, कवि चन्द्रवीर तुम्बापो, सरस्वती श्रेष्ठ ‘सरु’, सञ्जीव पौडेल, दीपक समीप लगायतले उनको कविता कृतिमाथि बोलेका थिए।

प्रकाशित मिति: : 2022-03-12 20:29:00

प्रतिकृया दिनुहोस्