एमसीसी पास गर्न सघाएको भन्दै जसपाका केन्द्रीय सदस्यलाई धम्की !

अमेरिकी सहयोग परियाेजना (एमसीसी) पास गर्न सघाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यलाई धम्की दिइएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का जसपाका केन्द्री सदस्य तथा व्यवसायी हरिप्रसाद रिजालालाई धम्की दिइएको हो।

रिजालसहित अर्का व्यवसायी जिवन भण्डारीलाई पनि धम्की दिइएको छ। उनीहरुले सञ्चालन गरेको भिलेज एग्रो फार्म र आरजिएम एग्रो फार्मलाई ध्वस्त पार्ने भन्दै अज्ञात व्यक्तिले पर्चा लेखेर धम्की दिएका छन्। तर धम्की दिने को हो भन्ने खुलेको छैन।

रिजाल र भण्डारीसहितको टिमले तुलसीपुर ४ नयाँवस्तिमा ड्रागन खेती गर्दै आएका छन्। धम्की दिने अज्ञात व्यक्तिले उक्त ड्रागन खेतीलाई नष्ट गरिने धम्की दिएका छन्। ड्रागन फार्ममा काम गर्दै आएका मजदुरलाई त्यहाँबाट हटाउनसमेत चेतावनी दिइएको छ।

उक्त धम्कीसहितको पत्र हिजो (सोमबार) फार्ममा भेटिएको थियो। अघिल्लो दुई दिन फार्ममै बम जस्तो शंकास्पद बस्तुसमेत फेला परेको थियो। उक्त शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

एमसीसी हामीले पास गर्ने हो कि सांसदले?

आफूलाई धम्की आएपछि जसपाका केन्द्रीय सदस्य रिजालले एमसीसी सांसदले हो कि हामीले हो पास गर्ने भन्दै प्रश्न गरेका छन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, 'म त अचम्ममा परेको छु। एमसीसी पास गर्ने त सांसदको हातमा होला। हामी न सांसद, न नेता? यो धम्की कस्तो सोचको हो?'

उनले व्यवसाय गर्ने मान्छेलाई प्रत्साह गर्नुपर्नेमा धम्की दिनु निन्दनीय कार्य भएको बताए। 'म त आजसम्म राम्रै गरेको छु जस्तो लागेको थियो। कसैको केही त गरेको छैन,' रिजालले भने, 'एउटा किसालाई यस्तो किसिमको धम्की निन्दनीय छ।'

उनले अहिले काठमाडौंमा रहेको र दाङ आएपछि सबै कुरा बुझ्ने पनि बताए।

यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भएपनि निन्दनीय बताएको बताए।

उनले ट्विटरमा लेख्दै भनेका छन्, 'जसपा केन्द्रीय सदस्य हरिप्रसाद रिजालको दाङस्थित कृषिफार्ममा बिष्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भए पनि निन्दनीय छ।'

साथै भट्टराइले धम्की दिनेलाई कार्वाही गर्न र  रिजालका सहकर्मी र परिवारको सुरक्षा गर्न सरकारसमक्ष माग गरेका छन्।

प्रकाशित मिति: : 2022-03-15 14:00:00

प्रतिकृया दिनुहोस्