झापाका तीन प्रहरी अधिकृत : जो पहिल्यै विवादित थिए, अहिले फन्दामा परे !

File Photo
File Photo

प्रहरी सेवाको अधिकांश समय पूर्वी नेपालका प्रहरी कार्यालयहरुमा व्यतीत गरेका थिए, उनीहरूले। त्रुटिपूर्ण कार्यसम्पादन र ‘सेटिङ’ मा चल्ने गरेकाे बात बेलाबेला लाग्दै आएपनि ती जनगुनासोमै सीमित थिए।

जहाँजहाँ ‘पोष्टिङ’ भयो, उनीहरू विवादित थिए। संयोगपनि कस्तो ! एकै ठाउँमा कार्यरत रहकै अवस्थामा तीनै जना प्रहरी अधिकृत फन्दामा परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका हुन्।

सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका ट्राफिक प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन्।

प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको बताए। ‘घटनाबारे उजुरी परेपछि छानविन गरेका थियौं, त्यस क्रममा कैफियत देखिएपछि कारबाही गरिएको हो’, प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिसीले भने।

स्रोतका अनुसार ९ वैशाख २०७८ मा झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो।

घटनामा कारबाही प्रक्रिया अघि बढाउँदा डीएसपी दाहालसहितको संलग्नतामा नक्कली चालक खडा गरिएको भन्दै गृह मन्त्रालयमा सुरुमा उजुरी परेको थियो। मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय, नक्साल हुँदै छानविनका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्राचार भएको थियो। उजुरीमा उनीहरुले ६ लाख रुपैयाँ लिएर नक्कली चालक खडा गरेको दाबी गरिएको थियो।

तर प्रदेश- १ प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पुरीको अध्यक्षतामा बनाएको तीन सदस्यीय छानविन समितिले आर्थिक लाभ लिएको विषय पुष्टि गर्न सकेन।

‘तर नक्कली चालक खडा गरिएको चाहिँ पुष्टि भएकाले कारबाही गर्न सिफारिस गरेका थियौं’, समितिका एक सदस्यले भने।

प्रहरी उपरीक्षक दाहाल इप्रका उर्लाबारीमा इन्सपेक्टरका रुपमा कार्यरत छँदा प्रशंसनीय थिए। हालका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको संलग्नता रहेको हत्याकाण्डलाई कारवाहीकाे दायरामा ल्याउने श्रेय उनैलाई जान्छ। यद्यपि हत्या अभियोगमा थुनामा रहेका फागोलाई अदालतले सफाइ दिएको थियो।

दाहाल उर्लाबारीबाट सरुवा भएपछि भने विवादरहित रहन नसकेको प्रहरी स्रोतले बतायो। ‘ट्राफिक प्रहरी अधिकारी भने जहाँजहाँ कार्यरत रहे गन्हाएका गन्हायै छन्’, स्रोतले भन्यो।

उनी राजनीतिक आडमा सुरक्षित भइरहेका थिए। बताइए अनुसार प्रनि अधिकारी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका स्वकीय सचिव बुद्धि खनालका साख्खै भिनाजु हुन्। यहि सम्बन्ध भजाएर इन्सपेक्टर होम अधिकारीले खेलोफड्को गर्दै आएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

केही वर्षअघि अधिकारी अस्थायी ट्राफिक कार्यालय पथरीमा इञ्चार्जका रुपमा कार्यरत थिए। अधिकारीले ट्राफिक कारवाहीमा परेका दर्जनौं सवारी साधनका पाटपुर्जा बिक्री गरेको समाचार उतिबेलै सार्वजनिक भएको थियो।

कार्यालय परिसरमा रहेको मोटरसाइकलको पार्टस खोल्दै गरेको तस्बिरसहितको समाचार स्थानीय पत्रपत्रिकामा प्रकाशित भएपछि उनी बदनाम थिए। जीवन मैनाली भने कानेपोखरी प्रहरी चौकीमा इञ्चार्ज रहँदा काठ तस्करीमा संलग्न भएको भन्दै स्थानीयको आक्रमण व्यहोरेका थिए।

प्रकाशित मिति: : 2022-03-21 18:31:00

प्रतिकृया दिनुहोस्