स्वास्थ्यमा घोराहीको फड्को : वडा–वडामा स्वास्थ्य इकाई, घर–घरमा स्वास्थ्य सेवा

Breaknlinks
Breaknlinks

‘पाँच/दश रुपैयाँ नहुने मानिस पनि छन्। उनीहरुले पैसाको अभावमा समान्य उपचार गर्न नसक्ने अवस्था छ। तर, यहाँ स्थापना भएको स्वास्थ्य इकाईले यस्ता नागरिकलाई मलम लगाइरहेको छ,’ घोराही उपमहानगरपालिका– १४ का स्थानीय मालबहादुर रोकाले भने।

घोराही– १४ स्थित नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्न आएका रोकाले सरकारी स्तरबाट खुलेका स्वास्थ्य इकाईले नागरिकलाई निकै सहज भएको बताए।

बजारको बीचमा स्थापना भएको स्वास्थ्य केन्द्रले निम्न वर्गीय नागरिकहरु लाभान्वित भएकाे उनकाे भनाइ छ। ‘पहिले स्वास्थ्य केन्द्र नहुँदा सरकारले दिने निःशुल्क सेवासमेत पाउन सकिएको थिएन। अहिले सहज भएको,’ उनले भने,‘विशेष गरेर निम्न वर्गीय नागरिकहरुका लागि थप सहज भएको छ।’

रोकाले जस्तै घोराही– १० की क्वारी पोखरेलले स्वास्थ्य इकाईले आफूहरु जस्ता बृद्ध–बृद्धाहरुलाई सामान्य उपचार गर्न, औषधि लिन सहज भएको बताइन। घोराही– १० नाराणपुरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड– १९ को विरुद्धको बुस्टर डोज खोप लगाउन आएकी पोखरेलले स्वास्थ्य केन्द्रबाट नियमति उपचार लिइरहेको बताउँदै सामान्य उपचार गर्न घोराही पुग्नुपर्ने बाध्यता नरहेको बताइन।

उनले प्रेसको औषधि खाने गरेको र स्वास्थ्य इकाईबाट ती औषधि पनि निःशुल्क पाइरहेको जानकारी दिइन। ‘म त प्रेसरकाको औषधि खान्छु। यो औषधि यहीबाट नै निःशुल्क लग्छु,’ पोखरेलले भनिन्, ‘मलाई राम्रो भएको छ। कहिले काहीं औषधि सकिएको बेला भने किन्नु पर्छ।’

लामो समयदेखि नारायणपुर स्वस्थ्य प्रवद्र्धन केन्द्रबाट सेवा लिन पाउँदा आफू खुसी रहेको उनको भनाइ छ।

रोका र पोखरेलले भनेको जस्तै घोराही उपमहानगरपालिकाले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याएको छ। ‘एक वडा एक, स्वास्थ्य केन्द्र’ नीतिअनुसार सबै वडामा स्वास्थ्य इकाईहरु स्थापना भइसकेको छ। घोराही उपमहानगरपालिकाले प्रथम नगरसभाबाट नै ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति नै पारित गरेर प्रत्येक वडामा स्वस्थ्य सेवा पुर्‍याउने लक्ष्य लिएको थियो।

सोहीअनुसार उपमहानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा घोराहीका १९ वटै वडामा स्वस्थ्य सेवा पुगेको छ। सबै स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले सेवा दिइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए। घोराहीमा १९ वटा वडा रहेपनि अहिले २३ वटा स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन्।

स्वास्थ्य शाखा प्रमुख घर्तीकाअनुसार उपमहानगरका नागरिकको स्वास्थ्यका लागि ६ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, १४ वटा सहरी स्वास्थ्य केन्द्र र १ वटा संस्थागत परिवार नियोजन क्लिनिक स्थापना गरिएको छ।

स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका नागरिकलाई मात्र होइन। घोराही बजारमै रहेका नागरिकहरुलाई लक्षित गरेर पनि स्वास्थ्य इकाईहरु स्थापना गरिएको छ। घोराही १४ र १५ नं वडा बजार केन्द्रित वडा हुन्। यी वडामा पनि स्वास्थ्य इकाई रहेका छन्।

घोराही– १५ उत्साहटोलमा सहरी स्वस्थ्य केन्द्र स्थापना गरिएको छ। जुन स्वास्थ्य केन्द्र जनप्रतिनिधि आएपछि मात्र स्थापना गरिएको हो। बजारमा बस्ने नागरिक पनि सरकारबाट उपलब्ध हुने स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ बजारकैबीचमा पनि स्वास्थ्य इकाईहरु स्थापना गरिएको नगरप्रमुख नरुलाल चौधरी बताउँछन्।

यस्तै, घोराही– १४ मा दुई वडा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। नयाँ बजार सहरी स्वास्थ्य केन्द्र (नयाँबजार) र संस्थागत परिवार नियाेजन क्लिनिक (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गरिएको छ। जसबाट नागरिकलाई स्वास्थ्य सेवा दिन सहज भएको नगरप्रमुख चौधरी बताउँछन्। 
घोराही २ रामपुरमा रहेको रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले नागरिकहरुलाई निकै सहज भएको स्थानीय चामबहादुर विकले बताए। उनले भने,‘रामपुर त अलि गाउँ पनि हो। गाउँमा रहेको स्वास्थ्य केन्द्रले हामीलाई निकै सहज भएको छ।’

विकले सामान्य रुघा लागेमा, ज्वोरो आएमा, प्रेसर चेक गर्नु परेमा स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवा पाइने गरेको बताए। रामपुरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट डाक्टरसहितको सेवा पनि दिँदै आएइएको छ।

स्वास्थ्य केन्द्रप्रति नागरिकको विश्वास बढ्दो

नयाँ बजार स्वस्थ्य केन्द्रकी ईन्चार्ज प्रभा शर्माले बजारको बीचमा रहेको स्वास्थ्य केन्द्रप्रति नागरिकको विश्वास राम्रो रहेको बताइन। उनले केन्द्रबाट सामान्य उपचार तथा परामर्श दिने गरेको भन्दै यसका लागि पनि दैनिक उपचार गर्न नागरिक आउने गरेको जानकारी दिइन। शर्माकाअनुसार केन्द्रमा दैनिक १५ जना बढी विरामी उपचार गर्न आउने गरेका छन्।

तर, केन्द्रलाई स्तरवृद्धि गर्न नसकिएकाले सबै विशेषज्ञ सेवा दिन नसकिने र विरामीलाई सामान्य उपचारपछि सल्लाह सुझाव दिएर रिफर गर्ने गरिएको ईन्चार्ज शर्माको भनाइ छ। उनले सहरी स्वस्थ्य केन्द्रलाई स्तरवृद्धि गर्दै बर्थिङ सेन्टर (सुत्केरी) सहितको सेवा थप गर्न सकियो भने नागरिकहरुलाई अझ सहजता हुने बताइन।

नारायणपुरमा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्यले स्वास्थ्य प्रबद्र्धन केन्द्रमा उपचार गर्न नागरिकको चाप हुने गरेको बताए। उनले प्रवद्र्धन केन्द्रबाट आयुर्वेदिक डाक्टरसहित, डेलीभरी सेवा दिँदै आइरहेको जानकारी दिए।

नारायणपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट महिनामा २० जना बढीले नर्मल डेलीभरी (गर्भपतन) सेवा लिने गरेको केन्द्रकी अनमी हिरा पन्थीले बताइन। यस केन्द्रमा नाराणपुर क्षेत्रका मात्र नभएर तुलसीपुर र घोराही बजार क्षेत्रका नागरिकसमेत डेलीभरी गर्न आउने गरेको पन्थीले जानकारी दिइन।

ल्याब सेवासहितको सेवा दिँदै आइरहेको केन्द्रमा सुत्केरी (डेलीभरी), ओपिडी, आयुर्वेदिक, खोप, पोषणलगायतको सेवा दिँदै आइरहेको छ। तर, भिडियो एक्सरे सेवा प्रदान गर्न नसकिएको केन्द्रले जनाएको छ। भिडियो एक्सरे सेवा प्रदान नभए पनि अन्य सेवा लिन नागरिकहरुले विश्वास गरेर आउने गरेको केन्द्रको भनाइ छ।

जनप्रतिनिधि आएपछि ६ वटा वडामा स्वास्थ्य केन्द्र स्थापना

घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्ये ६ वडामा जनप्रतिनिधि आएपछि स्वास्थ्य केन्द्र स्थापना भएका छन्। अन्य वडामा भने पहिले नै स्वास्थ्य केन्द्र स्थापना भएका थिए।

वि.स. ०७४ सालमा स्थानीय तहको निर्वाचनपछि घोराहीमा नरुलाल चौधरीको नेतृत्वमा बनेको जनप्रतिनिधिको सरकारले घोराही– ३ झिंनी, घोराही– ६ को फचकपुर, ८ को मार्पाडाँडा, ११ को शिवपुर,  १४ को संस्थागत परिवार नियाेजन क्लिनिक, १५ को उत्साहटोल र १७ को हरिद्वारमा स्वास्थ्य केन्द्र स्थापना गरेको हो।

सबै नागरिकलाई स्वस्थ्यको पहुँचमा ल्याउनका लागि एक वडा एक स्वास्थ्य केन्द्रको नीतिअनुसार स्वास्थ्य केन्द्रको स्थापनालाई तिब्रता दिएको र सोहीअनुसार सबै वडामा स्वस्थ्य सेवा पुगेको नगरप्रमुख चौधरीको भनाइ छ। उनले रामपुरमा विशेषज्ञसहितको सेवा दिनका लागि अहिले भवन निर्माणको काम भइरहेको जानकारी दिए। कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्ने काम पनि भइरहेको चौधरीको भनाइ छ।

यी हुन घोराहीका स्वास्थ्य इकाईहरु

कोभिडबाट मृत्यु भएकाकाे परिवालाई राहात

घोराही उपमहानगरपालिकाले कारोना भाइरस (कोभिड– १९) संक्रमणबाट मृत्यु भएकालाई राहात वितरण गरेको छ। कोभिडबाट मृत्यु भएका एक जनालाई ५० हजारका दरले ८० जना बढीलाई राहात स्वरुप ५०/५० हजार रुपैयाँ दिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए।

उनले कोभिड नियन्त्रणका लागि घोराही उपमहानगरले धेरै काम गरेको दाबी गर्छन। स्थानीय तह नभएको भए तिब्र रुपमा फैलिएको कोरोना नियन्त्रण गर्न निकै ठूलो समस्या भएकाे उनकाे अनुभव छ।

घर्तीकाअनुसार कोभिड नियन्त्रण गर्न घोराहीले ९० वटा क्वारेन्टाइनमा २५ सय नागरिकलाई सुरक्षित राखेको, फनपार्कमा रहेको भवनलाई कोरोना विशेष आइसोलेन बनाएर सञ्चालन गरेको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई आर्थिक अनुदान स्वरुप ४५ लाख रुपैयाँ प्रदान गरेका र १०० वटा अक्सिनज सिलिण्डर उपलब्ध गराएको थियो।

यस्तै कोभिडका समयमा मोबाइल टोली बनाई चिकित्सकसहित घुम्ती टोलीले कोभिडका विरामीलाई उपचार तथा परामर्श गरेको, ठूलो मात्रामा क्वारेन्टाइनमा रहेका मानिसको निःशुल्क पिसिआर परीक्षण गरेको उनले बताए।

उनले घोराही उपमहानरले कोभिडबाट नागरिकलाई बचाउन करिब एक करोड बराबर रकम खर्च गरेकोसमेत बताए। कोभिडका समयमा नागरिकले अस्पताललाई भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिलाई विश्वास गरेको भन्दै यो विश्वासलाई स्थानीय तहमा काम गर्ने जनप्रतिनिधिदेखि कर्मचारीसमम्मले ध्यान दिएर काम गरेको स्वास्थ्य शाखा प्रमुख घर्तीको भनाइ छ।

घर–घरमा स्वास्थ्य सेवादेखि उपप्रमुख खुत्रेके कार्यक्रम

घोराही उपमहानगरपालिकाले स्वस्थ्य केन्द्रको स्थापना मात्र होइन नागरिकको स्वस्थ्यका लागि अन्य कार्यक्रम गरेको छ। जसबाट नागरिकहरु खुशी व्यक्त गर्ने गर्छन। ७० वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वाथ्य जाँचसँगै उपचार गर्ने कार्यक्रम घोराहीले गर्दै आइरहेको छ। जसले नियमित चेकजाँच गर्नुपर्ने बृद्ध–बृद्धालाई सहज भएको घोराही १९ का जनक केसी बताउँछन्।

७० वर्ष पुगेका केसीले उपमहानगरबाट स्वास्थ्यकर्मी आएर आफ्नो पनि चेकजाँच गरिरहने बताए। उनले घरमै आएर स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न थालेदेखि घोराही बजारमा कुनै ठूलै विरामी भएमात्र जानुपर्ने बताए।

यस्तै घोराही– ७ का कुशलराम डिसीले पनि गाउँमा स्वास्थ्य केन्द्रमा पुगेर निःशुल्क औषधिहरु ल्याउने गरेको बताए। ‘कुनै ठूलो विरामी भए त घोराही पुग्नुपर्छ नत्र यही नै उपचार हुन्छ, औषधि पनि निःशुल्क पाइन्छ,’ केसीले भने।

यस्तै घोराही उपमहानगरपालिकाले सुत्केरी आमाका लागि उप–प्रमुख आमा सुरक्षा खत्रुके बचत कार्यक्रम सञ्चालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुलाई स्वस्थ बनाउन उपमहानगरपालिकाले उक्त कार्यक्रम लागू गरेको हो।

सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खत्रुके वचत कार्यक्रम ल्याइएको उपप्रमुख सितासिग्देल न्यौपानेले बताइन।

साेही कार्यक्रम अन्तर्गत गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले २ हजार ८ सय रुपियाँ खत्रुकेमा जम्मा गरिदिने गरेको छ। यस कार्यक्रमबाट धेरै आमाहरु लाभान्वित भएको शास्थ्य शाखा प्रमुख घर्तीले बताए।

यस्तै उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, सिकलसेल एनिमिया अभियान कार्यक्रम, भान्सा सुधार कार्यक्रम, जेष्ठ नागरिक घरदैलो स्वस्थ्य जाँच कार्यक्रम, आयुर्वेद औषधि खरिद, नगरप्रमुख रक्त सञ्चारलगायत कार्यक्रम गर्दै आइरहेको छ।

घोराहीको स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७७/७८ मा गरेका काम

घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा विभिन्न कार्यक्रम गरेको छ। कोरोना माहारी नियन्त्रणदेखि विभिन्न सचेतनामुलक कार्यक्रम गरेको स्वास्थ्य शाखाले जनाएको छ।

जसअन्तरगत मातृ तथा नवशिशु कार्यक्रम (आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन), उच्च जोखिममा रहेका समुदायमा विरामी खोजपड्ताल कार्यक्रम, औलो तथा कालाजार  माहामारी हुने क्षेत्रको छनौट गरी बिषादी छर्कने, किटजन्य रोग नियन्त्रण कार्यक्रमको अनुगमन एवम् मूल्याङ्कन तथा किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अन्तरक्रिया कार्यक्रम उपमहानगरले गरेको छ।

यस्तै घोराही उपमहानगरको स्वास्थ्य शाखाले पशुपंक्षी आदिबाट हुने ईन्फुएन्जा, बर्ड फ्लु एएमआर, सिसिष्टिसर्कोसिस, टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवारोग सम्बन्धी रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम, हात्ति पाइले रोग विरुद्धको आमा औषधि सेवन कार्यक्रम, पोषण कार्यक्रम, विद्यालयमा कुष्ठरोगबारे जनचेतना तथा परीक्षण कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यालय नर्स परिचलन कार्यक्रम, विरामीको लागि ओपिडि टिकट छपाई, आइसोलेसन वार्ड व्यवस्थापन, कोरोना प्रबर्धनात्मक कार्यक्रम गरेको छ।

त्यसैगरी सिकलसेल एनिमिया अभियान कार्यक्रम, एम्बुलेन्स र शब बाहन ब्यबस्थापन, रक्षाचौर आँखा अस्पतालको समन्वयमा आँखारोग मोतिबिन्दुको निःशुल्क अपरेशन, सामुदायिक आयुर्वेदिक अस्पतालको सहकार्यमा आयुर्वेद औषधिसहितको विशेषज्ञ सेवा तथा शिविर सञ्चालन, निःशुल्क स्वास्थ्य सेवाका लागि औषधि तथा औजार उपकरण खरिद, मानसिक स्वास्थ्य प्रबर्धन तथा लागूऔषध दुव्र्यशनिलगायत कार्यक्रम गरेको स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-22 17:00:00

प्रतिकृया दिनुहोस्