समय

जसलाई समयले विजयी गराउनेछ

समय एउटा वेग वा गति हो, जो निरन्तर आफ्नै हिसाबले अगाडि बढिरहेको हुन्छ। न हामीले यसलाई रोक्न सक्दछौं, न त यसलाई छेक्न सक्दछौं। यो आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेको हुन्छ। हामीले नचाहँदा नचाहँदै पनि समयअनुसार चल्नुपर्दछ। यदि मलाई कसैले जीवनको सबैभन्दा महत्त्वपूर्ण र अनमोल कुरा के हो ? भनेर सोध्यो भने मैले त्यसको उत्तरमा सबैभन्दा महत्व र अनमोल कुरा समय हो भन्नेछु।

समय कसैको वशमा छैन। कसैको इच्छाले रोकिने र पर्खिने गर्दैन। एकपटक बितेको समय फेरि कहिल्यै फर्किएर आउदैन। समयअनुसार सबै कुरा परिवर्तन हुन्छन्। जस्तै: बालक जवान हुन्छ। जवान बृद्ध हुन्छ। यो प्रकृतिको नियम हो। समयलाई चिनेर हामी समयअनुसार अगाडि बढ्न सक्नुपर्दछ। समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता गर्‍यौं भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं।

समयलाई चिन्ने र समयानुकूल चल्नसक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ। समयको कदर नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको कुनै अर्थ पनि रहँदैन।

समय पैसाभन्दा मूल्यवान छ, किनकि यदि पैसा खर्च गरियो भने यो पुनः प्राप्त गर्न सकिन्छ। यद्यपि, यदि हामीले एकपटक समय गुमाएमा हामी यो फिर्ता लिन सक्दैनौं। समयको बारेमा सामान्य भनाइ रहेको छ,‘समय र ज्वारभाटा कसैको लागि कहिल्यै पर्खदैन’। समय कुनै बाधाविना लगातारमा चलिरहन्छ। यो कसैको लागि कहिले पनि पर्खंदैन।

समय धेरै शक्तिशाली छ, जोकोही यसको अगाडि घुँडा टेक्न सक्छन्। तर, यसलाई हराउन सक्दैन। हामी यसको क्षमतालाई मापन गर्न असमर्थ छौं, किनकि कहिलेकाँही एकपल पनि जित्नको लागि पर्याप्त हुन्छ र कहिलेकाँही यसले पूरै जीवन लिनको लागि लिन्छ। कोही पनि एकक्षणमा धनी हुन सक्दछन् र कोही पनि एकक्षणमा गरीब हुन पनि सक्छ। जीवन र मृत्यु बीचको भिन्नताका लागि केवल एकक्षण मात्र पर्याप्त छ। सबै क्षणहरूले स्वर्णावासर हामीमा ल्याउँदछ। हामी केवल समय संकेत बुझ्न र यसलाई प्रयोग गर्न आवश्यक छ।

अन्तर्मनको यात्रामा लेखक जगदिश घिमिरेले भनेका छन्,‘जे हो समय हो। जे छ समयमा छ। बलवान् त्यो हुन्छ जसको समय आएको हुन्छ। बुद्धिमान् त्यो हुन्छ, जसको समय आएको हुन्छ। विजयी त्यो हुन्छ, जसको समय आएको हुन्छ। सबै समय हो। समय चमत्कार हो। यो ब्रह्माण्डमा जेजति छ, त्यो समयमा छ। समय नै अस्तित्व हो। सम्पूर्ण सृष्टि चमत्कारपूर्ण छ। ठूलोभन्दा ठूलो सौर्यमण्डल मात्र होइन सानाेभन्दा सानाे पात पतिङ्गर, किरो, बालुवा पनि उतिकै चमत्कारपूर्ण र रहस्यमय छ। सबै दृश्य-अदृश्य, जेय-अज्ञेय समयकै चमत्कार हुन्।’ यस्तै उहाँको समय सम्बन्धि भनाइप्रति मेरो पनि समर्थन छ।

संस्कृत र नेपालीमा मात्रै होइन अरु भाषाहरूमा पनि समय वा कालको अर्थ जीवन पनि हुन्छ, मृत्यु पनि हुन्छ। अर्थात्, समय वा काल जीवन पनि हो, मृत्यु पनि हो। अङ्ग्रेजी शब्द 'end' को अर्थ मृत्यु पनि हुन्छ, लक्ष्य पनि हुन्छ। अर्थात्, जीवन बाँच्नुको लक्ष्य मर्नु हो। मृत्यु हो। अतः माथि भनेजस्तो समय अस्तित्व मात्र होइन, सँग-सँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो।

समय कुनै राम्रो र कुनै नराम्रो हुँदैन। जन्म सुसमय र मृत्यु कुसमय होइन। उही एउटै समय सृष्टि, स्थिति र प्रलय। अर्थात्, जन्म, जीवन र मृत्यु हो। यसमध्ये कुनै समय मान्छेको लागि उत्सव हुन्छ, कुनै समय शोक। कुनै सुख हुन्छ, कुनै दुःख। सुसमय सुयोग हुन्छ, कुसमय दुर्योग समय आदिहीन र अन्त्यहीन लगातार हो, कन्टिन्युअम हो, जसमा नः सुख छ, न दुःख छ, न उत्सव छ, न शोक छ, न सुयोग छ, न दुर्योग छ। समय यथार्थ हो। यो सत्य हो। यो केवल छ।

समस्त चेतन र जडको जन्म, जीवन र अवसान समयको खेल हो। मान्छेका समस्त उपलब्धि, अनुपलब्धि सबै समयका खेल हुन्। मान्छे केवल कारण हो, कर्ता होइन। कर्ता हुनुको भ्रम आनन्ददायी वा दुःखद हुन्छ। त्यसले अहङ्कारबोध या हीनताबोध गराउँछ। मेरो दैव भने पनि, प्रकृति भने पनि, लीला भने पनि खेल भने पनि समय नै हो, अरु केही होइन।

कसैले दैव छ भन्छन्, कसैले छैन भन्छन्। भुसुनाले भगवान् छ भनेर हुने छैन भनेर नहुने होइन। सत्य हुन्छ, असत्य हुँदैन। दैव छ भने सत्य हो। सत्य समाधान हुन्छ, समस्या होइन छैन भने समस्या नै भएन।

जसले जे सोचे पनि हुन्छ। सोचले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सोचले सोच्नेको व्यवहार बदलिन सक्छ, बदलियो भने। सत्यलाई कसैले विश्वास हुने, स्तुति भजन र जप गर्दैमा हुने र नगर्दैमा नहुने होइन। कसैले विश्वास गर्नु या नगर्नुले सत्यलाई फरक पर्दैन।

मेरो लागि समय नै सर्वेसर्वा सत्य हो। स्वयंसिद्ध सत्य हो। सत्यलाई कुनै ग्रन्थ, कुनै गुरुले वा कसैले पनि सिद्ध गर्नुपर्दैन। असत्यलाई सिद्ध गर्ने कोसिस गर्नुपर्छ, सत्यलाई होइन। असत्यले सत्यको भान पार्नुपर्छ, सत्यले होइन। सत्य, स्थायी र शाश्वत हुन्छ। सोच परिवर्तनशील र सामयीक ईश्वर छ भने अजन्मा छ। अमर छ। मर्ने ईश्वर हुँदैन। ईश्वर छ भने पनि मर्दैन, छैन भने मर्दैन। नभएको कुरा मर्दैन। जसले ईश्वर मान्यो भन्यो त्यो पागल हो। टल्सटायले नित्सेलाई त्यसै पागल भनेका होइनन्। जसले नित्सेको कुरा पत्याउँछन्, ती झन पागल हुन्। जीवन सुखमा सार्थक र दुःखमा निरर्थक हुने होइन। जीवनको आफ्नो सुखमा होइन, अरुलाई सुख दिन सक्नुमा छ।

जीवन सार्थक वा निरर्थक पनि होइन। जीवन जसले जे भनेर देख्यो चिन्यो, जान्यो, बुझ्यो, मान्यो ठान्यो त्यही हो। मान्छेले जीवनको विश्लेषण गर्ने प्रयास नगरेको होइन तर आजसम्म सम्भव भएन। सबका आ–आफ्ना दृष्टिकोण छन्, जुन तिनकै लागि ठीक छन। जीवनबारे सार्वकालिक, सार्वभौमिक, सर्वसम्मत, आब्सोल्युट सत्य छैन। जीवन जिउने कुरा हो। जसले जसरी जान्दछ, बुझ्दछ, सक्तछ जानी, नजानी वा बुझी, नबुझी नै पनि त्यसरी नै ज्यूदछ। त्यही जीवनपद्धति उसले सार्थक देखे सार्थक र नरक देखे निरर्थक हुन्छ। अन्तिम विश्लेषणमा जीवन दृष्टिकोण हो। त्यसपछिको पनि विश्लेषणमा जीवन मृत्यु हो।

यात्रा सबैले गर्छन्। तर, कसैले बुझ्दैनन्। बुझ्ने भए त्यतिविधि गर्ने थिएन। जीवनको बाटोमा सबैले हिँड्छन। तर, कसैले बाटो चिन्दैनन्। चिन्न यतिविधि बिराउने थिएनन्। बाँचुञ्जेल जीवनलाई माया गर्न भएपछि मृत्युलाई पनि माया गर्नुपर्छ। जीवन भएकाले मृत्यु भएको हो। जीवन नभएको भए मृत्यु पनि हुने थिएन। हुनु दुःख हो। मान्छे दुःखमा जन्मन्छ। दुःखमा हुर्कन्छ। दुःखमा बाँच्छ दुःखमा मर्छ। बाँचुन्जेल सुख पाउँदैन। जो सुखसँग मर्छ त्यही सुखी हो।

समयले जन्माउँछ। त्यो समय साइत हुन्छ समयले जियाउँछ। त्यो समय जीवन हुन्छ। समयले मार्छ त्यो समय काल हुन्छ। जन्म, बालापन, यौवन, प्रौढावस्था मृत्यु सबै उही समयका फरक नाम र पर्याय हुन्। सबै समय उही हो, एकै हो।

अन्ततः एक वर्षको महत्व थाहा पाउन, विद्यार्थीलाई सोध, जो अन्तिम परीक्षामा फेल भएका छन्। नौं महिनाको महत्व थाहा पाउन, ती आमालाई सोध, जसले भर्खरै बच्चा पाएकी छिन। एक महिनाको महत्व थाहा पाउन पिएन काम गर्नेलाई सोध, जसको ५ वटा बच्चा छन्। एक घण्टाको महत्व थाहा पाउन, प्रेमीलाई सोध, जो प्रेमिकालाई भेट्न पर्खिरहेका छन्। एक मिनेटको महत्व थाहा पाउन त्यो व्यक्तिलाई सोध, जसले भर्खरै प्लेन छुटाएको छ। एक सेकेन्डको महत्व थाहा पाउन त्यो व्यक्तिलाई सोध, जो बम बिस्फोटको घटनाबाट भर्खरै बाँचेको छ। नानो सेकेन्डको महत्व आतङ्ककारीलाई सोध, जो आत्मघाती मिसाइल बोकेर हिँडेको छ।

(जुम्ला घर भएका लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौंथो वर्षमा अध्यनरत विद्यार्थी हुन्)

प्रकाशित मिति: : 2022-03-30 21:02:00

प्रतिकृया दिनुहोस्