बुढेसकालमा कलाधारको पौरख : जोत्छन् ट्याक्टर, सरकारलाई पठाउँछन् आलु र धान

शिलापत्र

अनुप पौडेल

घर आडैमा ६ रोपनी जग्गा छ । ७८ वर्षीय कलाधार भण्डारी वर्षभर त्यो खेत कहिल्यै बाँझो रहन दिँदैनन् । उनी आफैँ कहिले धान, कहिले मकै, कहिले आलु, कहिले गहुँ लगाउँछन् । 

कलाधारले फलाएको आलु र धान पोखरा महानगरपालिकाले किन्छ । पोखरा २३, ठूलाखेतको कलाधार नेतृत्वको ठूलाखेत कृषक समूहबाट उत्पादित ९८ बोरा (प्रति बोरा ५० केजी) गत महिनामात्रै महानगरले लगेको छ । त्योमध्ये १९ बोरा कलाधारले ६ रोपनीमा उब्जाएका हुन् । 

महानगरले मकैको बिउ पठाइदिएको छ, कलाधार त्यही लगाउने सुरसार गरिरहेका छन् । बुढेसकालमा पनि उनी आफैँ हाते ट्याक्टरले जोत्छन्, कुटो–कोदाल गर्छन् । बुढेसकाल लागेका उनको जाँगर देखेर छरछिमेकमात्रै होइन सरकारी कर्मचारी पनि चकित छन् । 

बुढेसकालमा पनि यत्रो जोस कसरी आउँछ ?  

जीवनको आधा दशक किसानी गरेका कलाधार देशको चिन्ता गर्दै जवाफ फर्काउँछन् । ‘गाह्रो, बुढो भइयो भनेर मैले छोड्ने, अर्कोले छोड्ने गरे सबैतिर भारत, अरू देश ताक्ने हुन्छ,’ उनी भन्छन्, ‘कृषि छोड्यो भने मान्छे बाँच्नेवाला छैन भन्ने कुरा मेरो आत्मामा बिज्या हुनाले कृषि मन पराउँछु ।’

प्रकाशित मिति: : 2022-03-26 12:36:00

प्रतिकृया दिनुहोस्