‘स्वीमिङ पुल’ सहितको भवन बनाउँदै थबाङका वडाध्यक्ष रोका

रोल्पा व्यावसायिक पृष्ठभूमिबाट आएका थबाङ गाउँपालिका–२ का वडाध्यक्ष बसन्त रोकाले थबाङमै पहिलो पटक स्वीमिङ पुलसहितको भवन बनाइरहेका छन्।

व्यावसायिक प्रयोजनका लागि निर्माण भइरहेको साढे ४ तले अत्याधुनिक भवनमा १६ वटा कोठा र २ वटा सटर रहेका छन्।

दुई करोडभन्दा बढी लागत अनुमान गरिएको भवनको सबैभन्दा माथिल्लो भागमा स्वीमिङ पुल निर्माण भइरहेको छ।

कुनै बेला ढुङ्गा र काठको मात्र छानो भएको घरले भरिएको थबाङमा पछिल्लो समय अत्याधुनिक भवनहरु ठडिने क्रम बढेको छ।

यसै क्रममा वडाध्यक्ष रोकाले नै सबैभन्दा अग्लो भवन बनाएपछि केही आलोचनासमेत खेप्नु परेको छ। जनप्रतिनिधि हुँदा नै यति ठूलो भवन नबनाएको भएपनि हुन्थ्यो ? भन्ने प्रश्नमा रोकाले आफू व्यावसायिक मान्छे भएकाले सोही प्रयोजनका लागि अहिले नै भवन बनाउनुपर्ने अवस्था आएको बताए।

‘मैले कुनै भ्रष्टचार वा अनियमितता गरेर बनाएको हैन’, रोकाले भने, ‘त्यसैले मेरो पद र भवनले कुनै सम्बन्ध वा असर गर्दैन। यदि मैले पदमा रहेर केही अनियमितता गरेको कसैले प्रमाण पेश गर्छ भने म जस्तो सुकै सजाय भोग्न तयार छु।’

थबाङको पहिचानलाई जोगाउन गाउँ कार्यपालिकामा आफूले नै आवाज उठाएको भएपनि नेतृत्वले कुनै चाँसो नदेखाएको रोकाको गुनासो छ।

‘ठूला भवन बनेपनि ती भवनको छठमा पुराना शैलीको घर अनिवार्य निर्माण गर्ने नीति बनाउन सकिन्छ’, रोकाले भने, ‘त्यसको लागि गाउँपालिकाको नेतृत्वले योजना बनाउनुपर्छ।’

इन्डोनेसिया भ्रमणमा देखेको डिजाइन

करिब ३२ वर्षीय रोका विगत लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्। थबाङमा हार्डवेयर र भाँडा पसल गर्दै आएका रोकासँग ३ वटा गाडी समेत छन्।

ट्रक, ट्र्याक्टर र बोलेरो पिकअपका मालिक रोकाले गत ३ वर्षअघि गाडी किन्दा इन्डोनेसिया भ्रमणको अवसर पाएका थिए। इन्डोनेसियाको बालीमा रोका बसेको घरको छठमा स्वीमिङ पुल र पुरानो शैलीको घरको छानो राखिएको थियो। सोही डिजाइनका आधारमा रोकाले आफ्नो घर पनि सोही डिजाइनमा बनाएको उनको भनाई छ।

होटल खोल्ने योजना

रोकाले साढे ४ तलाको घरमा हाटल खाल्ने योजना बनाएका छन्। थबाङमा सुविधा सम्पन्न होटल नभएकाले आफ्नै घरमा सुविधा सम्पन्न हाटल सञ्चालन गर्ने तयारी भइरको बताए।

‘प्राविधिक हिसाबले पनि थबाङमा राम्रो हाटल नभएकाले मैले माथिल्ला तलामा होटल सञ्चालन गर्ने सोँच बनाएको छु’, रोकाले भने, ‘हाटलमा बस्ने ग्राहकले छतमा स्वीमिङ पुलको मज्जासँगै पुरै थबाङ गाउँको दृश्य अवलाकन गर्न सक्नेछन्।’

पहिले कमाई अनि बल्ल समाज सेवा

सानै उमेरदेखि व्यापार व्यवसायमा लागेका रोका करिब एक दशक अघिदेखि नै विभिन्न व्यापार व्यवसायमा संलग्न हुँदै आएका छन्।

बीचमा केहि समय शिक्षण, सामाजिक परिचालन पेसामा समेत आबद्ध भएका रोकाले धेरै समय व्यापारमै बिताएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएपछि उनी जनप्रतिनिधि बन्ने अवसर पाएका हुन्।

व्यापारसँगै करिब ५ वर्ष समाज सेवामा बिताएका रोकाले पहिले कमाई गरेर मात्र समाज सेवामा आउनुपर्ने सुझाव दिन्छन्। ‘समाज सेवामा आएर कमाई गर्ने होइन’, रोकाले भने, ‘कमाई गरेर मात्र समाज सेवा गर्ने हो।’

प्रकाशित मिति: : 2022-03-30 15:59:00

प्रतिकृया दिनुहोस्