भूमे गाउँपालिकाको अध्यक्ष पद अब कस्को पोल्टामा ?

आगामी वैशाख ३० का लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पूर्वी रूकुमको भूमे गाउँपालिकामा चुनावी सरगर्मी बढ्न थालिसकेको छ। यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्।

महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गाविस र रुकुमकोट गाविसको वडा नं. ४ मिलेर बनेको यस भूमे गाउँपालिका भूमे गाउँपालिका माओवादी केन्द्रको किल्लाको रूपमा स्थापित छ। प्रत्यक्ष रूपमा माओवादी जनयुद्ध भोगेका मानिसको बसोबास गर्ने यहाँको राजनीतिक परिदृश्य अन्य ठाउँ भन्दा भिन्न छ।

माओवादी केन्द्रको वर्चस्व रहेको यस गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र मङोल नेशनल अर्गनाइजेसनलगायतका राजनीतिक दलको प्रभाव रहेको छ।

यसअघिकाे स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा माओवादीले ८ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा विजय हासिल गरेको थियो। त्यतिबेला गाउँपालिका अध्यक्षमा माओवादीका रामसुर बुढा मगरले भारी मतसहित विजय प्राप्त गरेका थिए। भने, ४ नम्बर वडामा काँग्रेसको प्यानले नै जितेको थियो।

यसपटक पनि निर्वाचनको मिति नजिकिएसँगै यस गाउँपालिका अध्यक्षमा को उठ्लान् भन्ने प्रश्न धेरैकाे मनमा उब्जिन थालेको छ। साेहीअनुसार राजनीतिक दलहरू पनि उम्मेदवार चयनको तयारीमा जुटेका छन्। तथापि, यस कार्यकालमा केही उल्लेखनीय काम गरेकाले हालका अध्यक्ष बुढालाई पुन: दाेहाेर्‍याउनुपर्ने धेरैकाे माग छ। स्थानीयकाे रूचिमा परेको कारण उनलाई दाेहाेर्‍याउने गरी पार्टीले पनि भित्री तयारी थालिसकेको स्राेतले जनाएकाे छ। त्यसैले उनी आगामी निर्वाचनमा गाउँपालिका प्रमुखकाे उम्मेदवार बन्ने ठूलाे सम्भावना रहेको छ।

यसपटककाे स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धमा रहेका पार्टीहरू मिलेर जाने निर्णय भएकाे छ। त्यसैले गठबन्धनकाे तर्फबाट अरू व्यक्ति  उठ्ने सम्भावना पनि कायमै रहेकाे पाइन्छ। त्यस्तै माओवादीबाटै अध्यक्ष बुढा मगर (विरता) सँगै मेघबहादुर श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, लालबहादुर बिष्ट (प्रभात), प्रवेश पुन (विवेक), हाेमप्रकाश श्रेष्ठ (हिमाल), जयवीर घर्ती (जेनी)ले पनि आकांक्षा देखाएका छन्। यीमध्ये वडा नं. ९ का वडाध्यक्ष समेत रहेका प्रवेश पुनले अब गाउँपालिककै नेतृत्व गर्ने गरी जोडतोडका साथ तयारीमा जुटेका छन्। युवाकाे नेतृत्व गरिरहेका उनी गाउँपालिकाकै सबैभन्दा कम उमेरका वडाध्यक्ष हुन्।

त्यस्तै, कांग्रेसबाट यसअघिकाे निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पराजित भएका गञ्जसिंह बुढा, उपाध्यक्ष कमला वली (खड्का) पनि उम्मेदवारी दिन चाहन्छन् भने, कांग्रेसबाटै नन्दबहादुर बिष्ट पनि उठ्ने सम्भावना कायमै छ।

त्यस्तै, एमालेबाट गत निर्वाचनमा पराजित आशा स्वर्णकार र कमानसिंह डाँगीले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। तर, यहाँ माओवादी र कांग्रेसबाहेक अन्य दलले जित्ने आधार कम रहेकाेले एमालेमा त्यस्ताे उत्साह भने छैन।

यसरी गठबन्धनका पार्टीहरू (माओवादी, कांग्रेसलगायत)ले जुन दलकाे व्यक्तिलाई उम्मेदवार बनाउँछन्, उसैले चुनाव जित्ने निश्चित जस्तै छ। तर, गठबन्धले माओवादी वा कांग्रेसका कसलाई उम्मेदार बनाउँछ त्याे भने हेर्न बाँकी नै छ।

प्रकाशित मिति: : 2022-04-03 20:00:00

प्रतिकृया दिनुहोस्