गौरादह नगरपालिकाकाे मेयर पद अब कस्काे पोल्टामा ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाकाे गौरादह नगरपालिकामा पनि स्थानीय निर्वाचनको रौनक सुरु भएको छ।

अघिल्लो चुनावमा गौरादहको मेयर पदमा नेपाली कांग्रेसले बाजी मारेको थियो। भने, उपमेयरसहित बहुमत वडामा नेकपा एमालेले परिणाम हात पारेको थियो। मुख्यतः यस नगरपालिकामा कांग्रेस–एमाले नै प्रतिस्पर्धी मानिएका छन्। कांग्रेसलाई मेयर पद सुरक्षित पार्दै बहुमत स्थान हात पार्ने चुनौती छ भने मेयर गुमाएको एमालेलाई जसरी पनि प्रमुख पद हातपार्नै पर्ने दबाब छ।

चुनावी जोडघटाउको चर्चासँगै पश्चिमी झापाको गौरादहमा मेयर पदका आकांक्षीहरु बढ्न थालेका छन्।

नेपाली कांग्रेसबाट दुई जनाको नाममा चर्चामा छ। भने, एमालेबाट आधा दर्जन आकांक्षी देखिएका छन्। कांग्रेसमा हालका मेयर रोहितकुमार साहले फेरि सोही पदमा दोहोरिने इच्छा जाहेर गरेका छन्।

कांग्रेसका क्षेत्र नम्बर ५ ‘क’ का सभापति जीवन राई पनि मेयर आकांक्षी छन्। एमालेबाट संविधानसभा सदस्य दीपक कार्की, हालका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, ५ नं. का वडाध्यक्ष छत्रपति सुवेदी, गत चुनावमा मेयरमा पराजित मदन अधिकारी, नेता अमर सिवाकोटी, योगराज दाहाललगायतको चर्चा छ। इच्छा जाहेर गरेको खण्डमा दीपक कार्की एमालेबाट सर्वसम्मत हुने बुझिएको छ।

कार्कीले अनिच्छा देखाए दोस्रो विकल्पमा छत्रपति सुवेदीको नाममा छलफल हुने एमाले स्रोतले जनाएको छ।

यस्तै, झापामा राम्रै जनमत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अमरबहादुर बिष्ट, खेम तिम्सिना र शान नेपालले मेयर उम्मेद्वार हुने इच्छा जाहेर गरेका छन्।

माओवादी केन्द्र भने ‘पर्ख र हेर’ को अवस्थामा छ। गठबन्धन भए गौरादहमा मेयर पदमा कांग्रेसलाई छाडेर उपमेयरलगायत वडामा उम्मेद्वार कसरी तय गर्ने भन्ने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ। उपमेयर प्रत्यासीमा पुष्प ढकाल र हुकुमसिं नेपालीमध्ये एक हुने बुझिएको छ। गठबन्धन नबनेको अवस्थामा माओवादीबाट पुष्प ढकाल नै मेयरको उम्मेद्वार हुने निश्चितप्रायः छ।

प्रकाशित मिति: : 2022-04-05 06:07:00

प्रतिकृया दिनुहोस्