ओखलढुंगामा जीप दुर्घटना, दुई प्रहरीको मृत्यु

सोलुखुम्बुबाट छुटेको प्रहरी सवार जीप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ।

बुधबार बिहान पूर्वको लागि छुटेको जीप करिब ९ः४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो। 

जीपमा ९ जना प्रहरी सवार रहेको भए पनि कति घाइते भए भन्ने विषयमा समेत जानकारी लिने काम भइरहेको उनको भनाइ छ।

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए। अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ। दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ। 

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ। घटनास्थलमा ओखलढुंगाका प्रहरी नायव उपरीक्षकसहितको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: : 2022-04-13 13:35:00

प्रतिकृया दिनुहोस्