कर्णालीमा गठबन्धनलाई उम्मेदवार छान्न सकस भइरहँदा एमालेलाई हाइसुक्ख

Breaknlinks
Breaknlinks

स्थानीय तहको निर्वाचन मिति नजिकिँदैछ। त्यो भन्दा बढी मनोनयन दर्ताको मिति नजिक छ। त्यसैले दलहरु उम्मेदवार टुङ्गाे लाउने तयारीमा जुटेका छन्।

प्रमुख प्रतिस्पर्धामा देखिन सक्ने सम्भावना भएका दलहरु नेपाली काँग्रेस, (नेकपा) माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिले एउटै गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका छन्, भने नेकपा (एमाले) अन्य साना दलसँग गठबन्धन गरेर अगाडि बढ्ने संकेत देखिएको छ।

तर, कर्णालीमा भने एमालेले अन्न दलसँग गठबन्धन गर्ने सम्भावना कम छ।

गठबन्धनमा कुन पालिकामा, कुन पार्टीबाट को उम्मेदवार बन्ने छलफल समेत चलिरहेको परिवेशमा एमालेले भने धमाधम उम्मेदवार टुङ्गाे लगाइरहेको छ। हालसम्म एमालेले कर्णाली प्रदेशका ७० वटा वडाका उम्मेदवार छानिसकेको छ।

एमालेले रफ्तारमा उम्मेदवार छान्दै गर्दा नेपाली काँग्रेससहितको सत्ता गठबन्धनभित्र भने यो क्रियाकलाप औपचारिक रुपमा सुरु हुन सकेको छैन।

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहकाअनुसार जाजरकोटका ७७ मध्ये ४० वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत रुपमा छनोट गरिएको छ। यस्तै डोल्पाका दुईवटा वडामा अध्यक्षका उम्मेदवार चयन गरिएको छ।

यस्तै अरू जिल्लाका २८ वडाहरुमा अध्यक्षका उम्मेदवार टुंगो लागेको अध्यक्ष शाहले जानकारी दिए।

‘केही वडाहरुमा उम्मेदवार टुंग्याइसकिएको छ। धेरैजसो वडाहरुमा छलफल भइरहेको छ,’ उनले भने, ‘गाउँपालिका र नगरपालिकाका उम्मेदवार टुंग्याउने काम पनि जारी छ।’

उनकाअनुसार प्रदेशका ९ वटा गाउँपालिका र नगरपालिकामा पनि प्रमुख उम्मेदवारको टुङ्गा लागेको छ। जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा वीरबहादुर गिरी र भेरी नगरपालिकाको मेयरमा सिपी घर्ती सर्वसम्मत् उम्मेदवार चयन भएका छन्। घर्ती अहिलेका मेयर हुन्।

कालीकोटको नरहरीनाथ गाउँपालिकामा टेकबहादुर बुढा सर्वसम्मत अध्यक्षको उम्मेदवार चयन भएका छन्।

यस्तै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सूर्यबहादुर शाही मेयरको उम्मेदवार बनेका छन्। पार्टीको अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित भएका शाही सर्वसम्म चामुण्डा विन्द्रासैनीको मेयरका उम्मेदवार बनेका हुन्।

दैलेखका दुई वटा स्थानीय तहमा पार्टीभित्रै प्रतिस्पर्धा भई उम्मेदवार चयन भएका छन्। प्रदेश कमिटी अध्यक्ष शाहकाअनुसार दुल्लु नगरपालिका र आठविस नगरपालिकामा निर्वाचनमार्फत उम्मेदवार टुङ्गाे लगाइएको हो।

दुल्लु नगरपालिकामा पाँच जना मेयरका आकांक्षी थिए। उनीहरुमध्ये रुद्रबहादुर शाही निर्वाचनमार्फत मेयरको उम्मेदवार चयन भएका छन्। उनले ५५ मत पाएका थिए। उनीसँगैका आकांक्षी हर्कबहादुर खड्काले ३३ र तिलक रिजाल १९ मत ल्याए। दुल्लु नगरपालिकामा एमालेबाट गंगाराम दाहाल पनि मेयरका आकांक्षी थिए।

यस्तै दुल्लु नगरपालिकाका उपमेयरमा रेणु भट्टराई उम्मेदवार चयन भएकी छन्। उनीसँगैका आकांक्षी विष्णु थापा र विना कार्कीले मत कम ल्याए।

यस्तै आठविस नगरपालिकाको मेयर पदका लागि एमालेका दुई जनाको नाम सिफरिस भएको छ।

‘अरु पनि आकांक्षी हुनुहुन्थ्यो। उहाँहरुबीच चुनाव भएपछि तर्क बडुवाल र खड्गराज उपाध्यायको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ,’ अध्यक्ष शाहले थपे,‘अब जिल्लाले प्रदेशलाई सिफारिस गरेपछि निर्णय हुन्छ।’

उम्मेदवार सिफारिस भएका उपाध्याय अहिले मेयर छन्।

आठविसको उपमेयरमा कल्पना कार्की उम्मेदवार बनेकी छिन्। उनी पनि निर्वाचन प्रक्रियाबाट उम्मेदवार बनेको शाहले जानकारी दिए।

यस्तै एमालेबाट जुम्लाका चार वटा स्थानीय तहमा प्रमुखको उम्मेदवार छनोट भएका छन्। कनकासुन्दरी गाउँपालिकामा मानबहादुर रोकाया सर्वसम्मत् अध्यक्षको उम्मेदवार बनेका छन्।

हिमा गाउँपालिकामा जयबहादुर खत्री अध्यक्ष र भागीरथि शाही उपाध्यक्षको उम्मेदवार सर्वसम्मत् चयन भएका छन्। पातारासी गाउँपालिकामा पनि सुकराम रावत र खम्मेनी महतारा सर्वसम्मत् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सिफारिस भएको शाहले जानकारी दिए।

उनले भने,‘तिलामा रेशम शाही सर्वसम्मत उम्मेदवार बन्नुभएको छ।’

कर्णाली प्रदेशमा गठबन्धनभित्रका दलहरुलाई भने उम्मेदवारहरुको टुंगो अझै समय लाग्ने संकेत देखिन्छ।

नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सामान्य रुपमा छलफल सुरु भएपनि निर्णय नभएको बताए।

‘छलफल त दलबीच भइरहेको छ। अहिले नै को उम्मेदवार भन्ने टुंगो भने लागेको छैन,’ उनले भने,‘गठबन्धनभित्र उम्मेदवार छान्न कति सकस् हुने हो भन्ने कुरा पनि अहिले ठ्याक्कै भन्न सकिँदैन।’

कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ वटा गाउँपालिका गरी ७९ स्थानीय तह छन् भने ७१८ वडा छन्।

प्रकाशित मिति: : 2022-04-15 20:50:00

प्रतिकृया दिनुहोस्