गगनको मुख थुन्ने ‘हुकुम’विरुद्ध अक्षरको सलामी

Break n Links
Break n Links

नेपाललाई ‘बनाना रिपब्लिक’ बनाउन व्यवस्थापिका र कार्यपालिकाको जे जति भूमिका छ, त्योभन्दा एक इन्च पनि कम छैन, न्यायपालिकाको भूमिका । तर, न्यायपालिकाका बारेमा सार्वजनिक रूपमा अभिव्यक्ति दिन पाइदैन । त्यसैले यसको जति आलोचना र विरोध हुनुपर्ने हो, त्यति हुन सकेको छैन । यदाकदा, भैहाले पनि न्यायपालिका त्यस्ता आलोचकमाथि सिधै जाई लाग्छ र उनीहरूको मुख नै थुन्ने आदेश दिन्छ ।  

यस्ता ‘मुख थुन्ने’ एक हैन, अनेक आदेश भएका छन् । त्यसैको पछिल्लो श्रृङ्खला हो, कांग्रेस महामन्त्री गगन थापाको मुख थुन्ने आदेश । उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा तत्कालीन ओली सरकारले नियुक्ति दिएका ५२ संवैधानिक पदाधिकारीविरुद्ध रिटको न्याय निरूपणमा भएको ढिलासुस्तीलाई लिएर टिप्पणी गरेका थिए । उनको टिप्पणी थियो, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई–तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ। एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो। अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम्, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ। अदालतले डिल गर्‍यो, अब त्यसको विश्वसनीयता के रहन्छ ?’

गगनले गरेको यो टिप्पणी कडा थियो तर तथ्यगत रूपमा उत्तिक सही पनि थियो । तर, केही ‘कालाकोटहरू’लाई भने यो तीतो सत्यले पोल्यो र उनीहरू अवहेलनाको निवेदन लिएर सर्वोच्च अदालत पुगे । यो एक किसिमको सेटिङ नै थियो भन्दा पनि हुन्छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत यात्रामा थिए । कायम मुकायम प्रधानन्यायाधीश थिइन् सपना प्रधान मल्ल । उनले रातारात सुनुवाई, पेशी जे जे चाहिने हो, सबै चढाइन् । र, ‘उप्रान्त नबोल्नु’ भन्ने आदेश दिदै गगनको मुखमा बुझो लगाई दिइन् ।

एमाले कोटामा संविधानसभा सदस्य रहिसकेकी श्रीमान् प्रधान मल्ल एमालेकै कोटामा प्रधानन्यायाधीश हुने रोलक्रम लिएर सर्वोच्च अदालत छिरेकी हुन् । त्यसैले पनि गगनविरूद्ध उनको यो आदेश स्वभाविक थियो । यदि यही आशयको बोली एमाले महासचिव शंकर पोखरेलको हुन्थ्यो र उनले यस्तो आदेश दिन्थिन् भने त्यो चाहिँ अस्वभाविक हुने थियो । यो पनि सत्य हो कि प्रधानन्यायाधीश राउत बेलायत नगएका भए गगनविरूद्ध यस्तो आदेश आउँदैनथ्यो । 

नेपालको न्यायिक निरूपणमा भैरहेको ढिलासुस्ती कहालीलाग्दो छ । खासगरी सरकारी नियुक्तिसँग सम्बन्धित मुद्दाहरू निरूपण हुनुअघि नै पदावधि सकिएर अनर्थ भएका एक हैन अनेक दृष्टान्त छन् । केही समयअघि मात्र कुनै समय नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएर हटाइएका हितेन्द्र शाक्यको मुद्दा त्यस्तै भएको थियो । उनको चार वर्षे पदावधि सकिदा पनि मुद्दाको छिनोफानो भएको थिएन । यो त चर्चित मुद्दा भयो र समाचार बन्यो । तर, समाचार बन्न नसक्ने सर्वसाधरण हजुरआमाहरूका मुद्दा छोराहरू हुँदै नातिहरूलेले खेपिरहेका अनगिन्ति दृष्टान्त भेटिन्छन् ।

न्यायिक निरूपणसम्बन्धी एउटा चर्चित भनाइ छ, ‘ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह नै हो’। यसो भन्दै सार्वजनिक रूपमै जिब्रो फट्कार्नेमा सबैभन्दा अगाडि श्रीमानहरू नै हुन्छन् । तर, व्यवहारमा त्यसको ठीक उल्टो भैरहेको हुन्छ । आजको खुल्ला र पारदर्शी समाजमा श्रीमानहरूले गरेको ढिलासुस्तीको फेहरिस्त लुक्न सम्भव नै छैन । सर्वोच्च अदालतले गठन गरेका कार्यदलकै प्रतिवेदनहरूमा त त्यति मात्र हैन, न्यायिक विचलनदेखि बेञ्च सपिङसम्म हुने गरेको स्विकारोक्तिको फेहरिस्त नै भेटिन्छ ।  

गगनले बोलेको सर्वथा गलत थिएन । उनले भनेको ‘अदालतले डिल गर्यो, अब त्यसको विश्वसनीयता के रहन्छ ?’ भन्ने कुरा चाँहि संगीन नै थियो । तर, त्यसको जवाफ अदालतले कामले दिनु पर्थ्यो, मुख थुन्ने हुकुमले हैन । अझ अगाडि बढेर यस मुद्दामा जुन आदेश आएको छ, त्यसले त प्रष्टसँग प्रि-सेन्ससरसिप नै लगाइएको बुझिन्छ । समयमा न्याय निरूपण नगरेर अन्याय गर्ने, अनि प्रश्न उठाउँदा ‘प्रश्न गर्नै नपाइने आदेश दिने’ सभ्य कानूनीराजको विशेषता हैन ।

गगनले जुन मुद्दाका बारेमा बोलेका थिए, त्यो मुद्दाको चाला पनि हितेन्द्रदेव शाक्यको मुद्दाजस्तै ‘मेरपछि डक्टर’ कै अवस्थामा छ । अब केही दिनपछि ओलीका ५२ पदाधिकारीहरूको पदावधि सकिदैछ । संविधानको मर्म छाम्ने हो भने त्यो नियुक्ति पहिलो दृष्टिमै गैरकानूनी छ । त्यो निर्णयमा पुग्न कुनै कानूनका ठेली पल्टाउनै पर्दैन । यो मुद्दा चार वर्षसम्म पेशीमा नचढ्नुको मूल कारण उनीहरूको नियुक्ति बदर हुने भएर नै हो । यो पनि जगजाहेर छ । यदि त्यसो भयो भने आफूलाई भागबण्डामा न्यायाधीश नियुक्त गर्ने मालिक रिसाउँछ, न्यायमूर्तिहरूलाई यही डर छ । त्यसैले मुद्दाको पेशी नै नचढाएन पदावधि सकिएपछि ‘अर्थ न बर्थ गोविन्द गाई’ बनाइदियो; टण्टै साफ । यो मुद्दामा योजनावद्ध रूपमा गर्न खोजिएकै यही हो ।

केही दिनअघि यो मुद्दाको सुनुवाइ संवैधानिक इजलाशमा भैरहेको थियो । उनले लगातार यसको सुनुवाई राख्न लगाए । उनले चाहँदा कुनै पालो पनि पर्खनुपरेन । १० दिने बेलायत भ्रमणमा जानुअघि भएको पछिल्लो तारान्तार त्यसैको दशी प्रमाण हो । अब प्रश्न उठ्छ, यो मुद्दा पर्नेबित्तिकै यस्तो तारान्तार किन भएन ? प्रधानन्यायाधीशले चाँहदा त सुनुवाइ मात्र हैन, निरन्तर सुनुवाई नै पनि गर्न मिल्ने रहेछ । यसबाट नेपालको न्यायपालिका समयमै मुद्दा छिनोफानो गरेर न्याय निरूपण गर्न नै चाँहदैन भन्ने तथ्य प्रष्ट हुन्छ । 

‘ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह नै हो’ भन्ने भनाइलाई मान्ने हो भने यो भनेको न्याय नदिनु नै हो । यस्तो न्याय नदिने न्यायपालिकाको बारेमा आलोचना वा विरोध गर्न पाइने कि नपाइने ?, अहिलेको मूल प्रश्न यही हो । यदि समयमै दूधको दूध पानीको पानी छुट्याएर न्याय निरूपण गर्ने हो भने न्यायपालिकामाथि प्रश्नै उठ्दैन । यसबाट कानूनी राजको प्रत्याभूति हुँदा लोकतन्त्र पनि लोकप्रिय हुन्छ । अहिले लोकतन्त्रमाथि प्रश्न उठ्नु कानूनी राज नभएर पनि हो । यस कोणबाट हेर्दा लोकतन्त्रमाथि प्रश्न उठ्नुमा न्यायपालिकाको ढिलासुस्ती र न्यायिक विचलन जिम्मेवार देखिन्छ ।

गगनविरूद्ध सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशले उनको मुख मात्र थुनेको छैन, अदालतमा विचाराधीन मुद्दाबारे बोल्न प्रि-सेन्सरसिप पनि लगाइएको छ । नेपालको न्यायालयले आफूविरूद्धको आलोचनामा गरेको ज्यादै अनुदार निर्णय हो यो । यो निर्णयसँगै नेपालको न्यायालयको न्यायिक निरूपण प्रक्रिया, निर्णय, ढिलासुस्तीलगायतका विकृतिहरूसँग जोडिएका अनेकौ प्रश्नहरू उठ्नेछन् । अदालतले जति नै अनुदार निर्णय गरेर तर्साउन खोजे पनि आजको सचेत नेपाली जनता प्रश्न गर्नबाट डराउनेवाला छैनन् । प्रश्न गर्ने ठाउँ खोज्नै पर्दैन, न्यायिक निरूपणका क्रममा हुने एकपछि अर्को विचलनका घटनाहरू आफैं हाजिर भैहाल्छन् ।

त्यस्तै एउटा जबर्जस्त हाजिरी दिएको छ, महिमानसिंह बिष्ट प्रकरणले । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानले जे गरे, त्यो प्रशासनिक कोणबाट ठीक थियो कि थिएन ? भनेर प्रश्न उठाउन सकिएला । अहिले अनुसन्धानका क्रममा थुनामा रहेका उनले गरेको कारबाहीको कानूनी निरूपण पनि हुँदै जाला । तर, उनको अन्तरआत्माले जे गर्यो, त्यो बेठीक गर्यो भन्ने ठाउँ छैन ।

रेशम चौधरी कैलाली घटनामा जिम्मेवार भएको भनेर जन्मकैदको फैशला गर्ने नेपालको न्यायपालिका नै हो । अनि फैसलाको पूर्ण पाठ नआई उनलाई थुनामुक्त गर्दा परेको मुद्दाको सुनुवाई नगरेर ढिलासुस्ती गर्ने पनि नेपालको न्यायपालिका नै हो । न्यायिक कोणबाट हेर्दा रेशम फेरि जेल जाने निश्चित छ । तर, यसको राजनीतिक अर्थ पनि हुने भएकाले सर्वोच्च अदालत त्यसमा पस्नै चाहदैन ।

जब सर्वोच्च अदालत दिन दहाडै ढिलासुस्ती गरेर न्याय नदिने स्थितिमा पुग्छ, महिमान टुलुटुलु हेरेर बस्न सकेनन । उनीको अन्तरआत्मा जाग्यो र यस्तै दुस्साहस गर्न बाध्य बनायो । महिमानले भनेकै छन्, अन्याय भएको छ भनेर मलाई भित्रदेखि पोलिरहेको थियो। कारबाही हुन्छ भन्ने जानेरै गरेको हुँ।‘

यो एक महिमानको मात्र प्रश्न हैन, समयक्रममा अन्यायविरूद्ध अन्तरआत्मा बोल्ने यस्ता अनेकौ महिमानहरूले दुस्साहस गर्नेछन् । त्यतिबेला कतिजना महिमानहरूलाई थुनेर नेपालको न्यायपालिकाले आफ्नो ‘शाख’ जोगाइ रहन सक्छ र ?

महिमान प्रकरणमा नेपालको मिडिया जे जति बोल्नु पर्थ्यो बोलेन । यसको कारण प्रष्ट छ, केही दिन अगाडि मात्र गगनको मुख थुनिनु । त्यो देखेर नेपाली मिडियाका मालिकहरू डराए । नत्र, महिमानले गरेको एक किसिमको न्यायिक विद्रोहप्रति नेपाली मिडिया यति धेरै टर्रो हुनुपर्ने कुनै कारण थिएन ।

त्यसो त गगनको मामलामा पनि नेपाली मिडिया र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू खासै बोलेनन् । शायद उनीहरूले अदालतका बारेमा बोल्न प्रि-सेन्सरसिप लागेको कुरा थाहै पाएनन् । शायद थाहा पाएर पनि बोल्न चाहेनन् । यसो हुनुको एक कारण राजनीति पनि हो । गगनका लागि बोल्ने भनेको कांग्रेस भित्रको उनको गुट मात्र हो । उनलाई खुइल्याउन कांग्रेसको संस्थापन मात्रै लागेको छैन, गगनले सभापतिमा आफैं उठ्छु भनेपछि शेखर कोइराला खेमा पनि उनलाई ‘साइज’मा ल्याउन न्वारानदेखिकै बल लगाइरहेको छ । कांग्रेसभित्रको युवापुस्ता त यसै पनि समकालिन इर्श्याले ग्रस्तै छ ।

गगन अरू राजनीतिक दलका लागि एक चुनौति हुन् । त्यसैले उनको पक्षमा उनीहरूको बोली फुर्ने कुरै हुँदैन । बोल्ने भनेको अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, नागरिक समाज र मिडियाले हो । यो पक्षले पनि यसपटक खोई किन हो, खासै बोल्ने जाँगर चलाएन । यो चाँहि अलि अचम्मलाग्दो विषय छ ।   

गगन र नेपाली मूलधारे मिडियाबिच ६३ को साइनो छ । समय अनुसार ‘प्रतिपक्षी बोली’ बोल्न नामी उनी सत्तामा होस् वा प्रतिपक्षमा सधैं मिडिया खपतका लागि नै बोलिरहेका हुन्छन् । इतिहास हेरे हुन्छ गगन एक मिडिया प्रडक्ट नै हुन् । उनका अधिकांश भनाइ मिडियाका हेडलाइन बनिरहेकै हुन्छन् । साँच्चै भन्ने हो भने अहिले उनी राजनीतिको जुन उचाइमा छन्, त्यहाँ ल्याइपुर्याउन नेपाली मिडियाको अहम् भूमिका छ । नेपाली मिडियाका ‘मिडिया डार्लिङ’ नै हुन् गगन । 

गगनले केही समययता कांग्रेस पार्टीको सभापति र प्रधानमन्त्रीलाई आफ्नो अर्जुनदृष्टि बनाएका छन् । अरू नेताजस्तै गगन पनि जोगी हुन राजनीतिमा लागेका हैनन् भन्ने कोणबाट हेर्दा यसो गर्नु अस्वभाविक पनि हैन। तर, यही महत्वाकांक्षाका लागि अनेक रणनीति र कार्यनीतिमा ब्यस्त हुँदा उनी कहिलेकाही घेराबन्दीमा पनि पर्छन् । पछिल्लो समय उनी ओलीलाई सत्तामा पुर्याएर देउबालाई पुन: प्रधानमन्त्री बनाउन दिलोज्यान दिएर लागे । उनलाई लागेको थियो कि यसो गरेपछि देउबाले उनलाई नै आगामी महाधिवेशनमा सभापतिका लागि सहयोग गर्छन् । त्यसका लागि उनी घाँडो ओली बोक्न र त्यसबापत जति अपजश खान पनि तयार भए ।

तर, समयक्रममा उनी नराम्ररी बुमर्याङ हुनपुगे । उनको रणनीति नराम्ररी असफल भयो । जसले गर्दा अहिले उनी रक्षात्मक स्थितिमा छन् । यसरी बुमर्याङमा परेर कमजोर भएको बेला अदालतले मुख थुनिदिएर थप रक्षात्मक बन्न बाध्य बनाएको छ । उनलाई जसले सहयोग गर्लान् भन्ने आशा थियो, त्यताबाट पनि सहयोग नहुँदा उनी निराश भएको हुन सक्छन् ।

तर, गगनलाई निराश बनाएर नेपालको लोकतन्त्र-गणतन्त्र आशावादी हुन सक्दैन । उनको असफलतामा कांग्रेस त असफल हुन्छ नै, नेपालको लोकतन्त्र पनि सफल हुदैन । कांग्रेसजस्तो यथास्थितिवादी दलको महामन्त्री हुनु आफैंमा ठूलो कमजोरी हो । अझ, त्यसमाथि पनि शेरबहादुर देउबाको महामन्त्री । यति हुँदाहुँदै पनि गगनले नेपाली लोकतन्त्र-गणतन्त्रका लागि गरेको योगदान कम छैन ।

यो स्तम्भकार नेपाली कांग्रेसको शीर्ष नेतृत्व गगनको पुस्तामा ल्याउन सकियो भने त्यसबाट कांग्रेस त बैतर्नी तर्छ नै, नेपाली राजनीतिले पनि लय पक्रन्छ भन्ने ठान्छ । त्यसैले पनि गगनको मुख बन्द हुँदा पटक्कै खुशी छैन । बुझ्न के जरूरी छ भने श्रीमान् मल्ल प्रधान नेतृत्वको बेञ्चले गगनको मात्र मुख थुन्ने आदेश दिएको छैन, अरूमाथि पनि अदालतमा परेको मुद्दाका बारेमा बोल्न नपाउँने प्रि-सेन्सरसिप पनि लागु गरिएको छ।

हरेक क्रियाविरूद्ध बराबर तर बिपरित दिशामा प्रतिक्रिया हुन्छ । यो गतिको तेस्रो नियम हो । यो नियम नेपालको न्यायालयमा पनि लागु नहुने कुरै हुँदैन । अदालतले मुख थुन्ने आदेश दिएको छ, जनताले मुख खोल्ने साहस गरेर क्रिया बराबरकै प्रतिक्रिया दिनुपर्छ र दिन्छन् पनि । अन्यथा, अरू महिमानहरू अन्तरआत्माको निर्णयले ‘पागल’ र गगनहरू ‘असफल’ हुन बाध्य हुन्छन् । त्यसबाट किञ्चित पनि लोकतन्त्रको पक्षपोषण हुन सक्दैन । अहिलेको सभ्य समाजको नागरिक हुने हो भने लोकतन्त्रको विकल्प छैन ।

प्रकाशित मिति: : 2025-05-07 02:57:00

प्रतिकृया दिनुहोस्