राेल्पाकाे थबाङ र सुनछहरीमा माओवादीविरूद्ध मोर्चाबन्दी

रोल्पाको थबाङ र सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रलाई हराउन अन्य सबै दलहरूले मोर्चाबन्दी गरेका छन्।

मोर्चाबन्दी गर्ने क्रममा  नेपाली कांग्रेस, नेकपा (एमाले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।

थबाङमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढालाई हराउन स्वतन्त्र उम्मेदवार दरजित रोकालाई कांग्रेस, एमाले, नेकपालगायतका दलहरूले साथ दिएका छन्। 

यस्तै, सुनछहरीमा पनि माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनलाई हराउन कांग्रेस, एमाले र नेकपाले स्वतन्त्र उम्मेदवार पुष्टमन घर्तीलाई अघि सारेका छन्।

यी स्थानीय तहका वडा स्तरसम्म पनि गठबन्धनले उम्मेदवारहरु तय गरेको छ। 

जिल्लाको सुनछहरी र थबाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा पनि विप्लव नेकपाले स्वतन्त्र उम्मेदवारहरू उठाएको थियो। 

त्यसबेला थबाङको एउटा वडा मात्र जिताएकोमा यसपटक सबै ठाउँमा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।

जिल्लाका अधिकांश स्थानीय तहमा फरक–फरक दलहरूबीच गठबन्धनको प्रयास हुने क्रममा विप्लवको प्रभाव क्षेत्र मानिएको थबाङ र सुनछहरीमा स्वतन्त्र उम्मेदवारलाई प्रमुख पद दिन अन्य दलहरु तयार भएपनि गंगादेव गाउँपालिकामा भने स्वतन्त्र र कांग्रेस, एमालेबीच नै प्रतिष्पर्धा हुने भएको छ। 

अघिल्लो निर्वाचनमा १० मध्ये ७ स्थानीय तहमा जितेको माओवादीलाई हराउन यस पटक कांग्रेस एमालेले विप्लवलाई समेत साथमा लिएपछि यस पटकको निर्वाचनलाई थप चासोका साथ हेरिएको छ।
 

प्रकाशित मिति: : 2022-04-29 21:56:00

प्रतिकृया दिनुहोस्