खै, के दिउँ म तिमीलाई औँसीको उपहार ? 

Breaknlinks
Breaknlinks

मैले भगवान कस्तो हुन्छ देखेको त छैन, तर भगवानको रूपमा तिमीलाई देखेकी छु। आमा! तिमी मेरो लागि भगवान हौं। मेरो लागि पहिलो माया नै मेरी आमा हुन्।

जतिबेला बुझ्ने भएँ, आमाबाहेक अरूलाई प्यारो देखिनँ। आमा जति राम्रो र सालिन कोही देखिनँ। आमा! तिम्रो हृदय विशाल, आकाश जस्तौ  फराकिलो छ। जहाँ मेरा हरेक गल्ती र झगडाहरू बचपनका रूपमा रहेका छन्।

तिम्रो महिमा र त्यागको बयान गर्न त मसँग कुनै शब्द नहोला, तर त्यसलाई सम्मान भने अवश्य गर्नेछु। कुनै दिन खाना कम पाक्दा स्कुल गएकी म भोकै रहुँला भनेर आफ्नो भाग खन्याएर राख्ने तिमी, निन्द्राले आँखा दुखेर हेर्न नसक्दा छोरी कति बेला घर आउली भन्दै खाना कुर्ने, तिमीसँग रिसाएर घरबाट खाना नखाई स्कुल जाँदा स्कुलमा खाना पुर्याउने तिम्रा ती सबै कुराहरू मानसपटलमा ताजै छन्। तिम्रा त्यागहरूका बारेमा काेर्न  सायदै मेरो हैसियतले नदेला।

आमा देवी हुन्, जसले आफ्ना सन्तानको जीवन उकास्न आफ्ना हरेक सपनाका बलिदान दिन्छन्। आफ्ना सन्तानकाे प्रतिष्ठामा आँच आउन नदिन सबै दुःख आफ्नो शिरमा राख्छन्। कति ममतामयी छ, यो शब्द। सुन्दा नै हरेक  दुःख  बिसाउने। आमा सबैकाे साथमा हुँदैनन्, तर जसको साथमा आमा हुन्छिन्, त्यो संसारका भाग्यमानी  हुन्। जसलाई हरेक सुख, दुःख झेल्न आमाले साथ दिन्छन्।

आमा! तिमी मेरो लागि सबैभन्दा प्यारी हौ, मेरो लागि सब थाेक हौ। दुखी हुँदा दुख बाँड्ने साथी, खुसी हुँदा सँगै हाँस्ने-रमाउने। मेरो हरेक कष्टहरूलाई सहजै स्वीकार गर्ने तिम्रो त्यो सहासले मलाई सधैँभरि उर्जा दिइरहन्छ। जब तिम्रो समिपमा हुन्छु, सबै दुःख भुलिदिन्छु, तर तिम्रो अभावमा जीवन नै अन्धकार हुन्छ। आमा तिम्रो त्यो साथ र  मायाको लागि सदैव आभारी रहने छु।

थाहा छैन तिमीले देखेका सपना पूरा गर्न सक्छु कि सक्दिनँ, तर पनि हरदम कोसिस सधैँ रहने छ। कुनै दिन नमिठा बचनले तिमीलाई ठेस पुर्याएँ होला, रिसाएँ होला। तर, तिमीले कुनै दिन मेरा घुर्कीलाई झर्काे मानिँनाै। सदैव मेरा सहज, असहजलाई ध्यानमा राख्यौ। खै, कसरी वर्णन गर्न सकिएला र आमाको गाथा।

आमाको त्यो त्याग र बलिदानलाई वर्षमा एकदिन मनाइने मातातीर्थ औँसी, के त्यसले आमाको मायालई बयान गर्न सक्छ? आमा र सन्तानबीचको  मायालाई प्रगाढ बनाउला त ? आमाप्रतिको मायालाई व्यक्त गर्न के औँसी नै कुर्नुपर्ने हो र?

म त भन्छु- वर्षमा एकदिन मात्र हैन, ३६५ दिन नै आमाको मुख हेर्ने दिन हुनुपर्छ। खै, के दिउँ म तिमीलाई औँसीको उपहार? तिम्रो बयान गरूँ भने  न कुनै शब्द नै भेट्छु, न कुनै उपहार नै  देख्छु दिनलाई। धन्यवाद, मेरी आमा!

प्रकाशित मिति: : 2023-04-20 13:20:00

प्रतिकृया दिनुहोस्