यस्ता पनि एमालेका उम्मेदवार, मतदाता भन्छन्– दोषी ठहर​​​​​​​ भएकालाई पनि भाेट दिनु र?

नेकपा (एमाले) कोहलपुरले गाली बेइज्जती मुद्धामा दोषी ठहर भएका खिलप्रसाद भुसाललाई मेयर पदमा उम्मेदवार बनाएकाे छ।

जिल्ला अदालत बाँकेले भुसाललाई ०७७ मंसिर २९ गते गाली बेइज्जती मुद्धामा दोषी ठहर गर्दै पाँच सय रुपैयाँ जरिबाना तोकेको थियो। कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई, कर्मचारी शिवध्वज शाही र पुस्तकालयका आजिवन सदस्य तथा कानुन व्यवसायी रूद्रमणि न्यौपानेलाई पुस्तकालय खोली पुस्ताकालयको महत्वपूर्ण कागज पत्र चोरेकाे आरोप लगाएर उम्मेदवार भुसालले उनीहरूको इज्जतमा आँच आउने खालको कार्य गरेका थिए।

अदालतको फैसलामा भनिएको छ, पत्रिकामा प्रकाशित प्रेस विज्ञप्तिबाट फिरादीको पेशा व्यवसाय र मान प्रतिष्ठामा आँच पुग्न गई प्रतिवादीहरूको कार्य मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०६ ९१० र ९२० (क) विपरित रहेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन आएकोले फिराद दावी बमोजिम बादीलाई प्रतिवादीहरूले लिखित बेइज्जती गरेको ठहरेकोले प्रतिबादीहरूलाई कसैको कसैले बेइज्जती गरेमा हुने सजायको व्यवस्था मुलुकी अपराधसहिंता २०७४ को दफा ३०७ मा उल्लेख भएकोमा सार्वजनिक नैतिकता वा प्रतिष्ठाविरूद्धका कसुरमा सजायको मात्रा कठोर हुनुभन्दा सांकेतिक सजाय गर्दापनि कानुनको उद्देश्य पूरा हुने र प्रतिवादीहरू खिलप्रसार भुसाल र तेजप्रसाद चापागाईंलाई जनही रू. पाँच सय जरिवाना गर्ने ठहर जिल्ला अदालत बाँकेले गरेको छ।’

फैसला प्रमाणीकरण भएको विवरण जिल्ला अदालतको सूचना पाटी र अदालतको वेवसाइटबाट जानकारी प्राप्त भएको थियाे। उनै भुसाल अहिले कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारको रुपमा गाँउ–घर पुग्दै भाेट माग्दै गरेका छन्।

अदालतबाट दोषी ठहरिएका भुसाल भोट माग्दै स्थानीयको घरदैलामा गएका बेला कतिपयले यही कुरा गरेर फर्काउने गरेको एमाले कार्यक्रर्ताहरू नै बताउँछन्। अदालतबाट दोषी ठहर भएकालाई पार्टीले उठाएका कारण एमालेको इज्जतमा नै दाग लागेको भन्दै कोहलपुरका एमाले नेताहरू नै रुष्ट छन्।

प्रकाशित मिति: : 2022-05-03 13:49:00

प्रतिकृया दिनुहोस्