जसलाई मतदाताले ढोगेर आशीर्वाद दिए

सेतोपाटी

युवराज श्रेष्ठ

म्याग्दीको रघुगंगा गाउँकी मीना विश्वकर्मा यसपालि वडा सदस्य उठ्ने तयारी गर्दै थिइन्। केही स्थानीयले गाउँपालिका अध्यक्ष नै उठ्नुपर्छ भने। तर पार्टीमा धेरै नेता अध्यक्षका आकांक्षी भएकाले मीनाले आँट गरेकी थिइनन्।

अलमलमै रहेका बेला स्थानीयले उनलाई ढाडस दिए। मीनाले गाउँपालिका अध्यक्ष उठ्ने निधो गरिन्। माओवादीले उनलाई टिकट पनि दियो।

यसरी अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि मीना अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छिन्।

यही क्रममा उनले रघुगंगा-६, पाखापानी पुगेर माओवादीका पुराना नेता गौबहादुर विश्वकर्मासँग आशीर्वाद मागिन्।

गाउँपालिका अध्यक्ष उठ्ने हिम्मत गरेको भन्दै गौबहादुरले मीनाको खुट्टै ढोगेर आशीर्वाद दिए। उनीहरूबीच नाता साइनो पनि थियो।

‘म अध्यक्षमा उठेँ मामा, आशीर्वाद दिनुस् भनेको थिएँ, उहाँले मेरो खुट्टा ढोगेर आशीर्वाद दिनुभयो,’ मीनाले भनिन्, ‘उहाँको आँखाभरी आँशु देखेँ, मैले पनि मन थाम्न सकिनँ।’

दलित महिलाको गाउँपालिका चुनाव लड्ने हिम्मत देखेर हर्षले आँखा भरिएको गौबहादुर बताउँछन्।

‘हामी सधैं किन तल पर्ने, तिमीले साहस गर्‍यौ,’ गौबहादुरले भने, ‘छोरी तिमीले जनतालाई सेवा गर्ने र विकासका काम गरेर देखाउनुपर्छ।’

प्रकाशित मिति: : 2022-05-05 16:07:00

प्रतिकृया दिनुहोस्