जनयुद्धको भूमिकालाई मूल्यांकन गर्न पार्टीले दिएको जिम्मेवारी जनताबाट अनुमोदन गराउँदैछु : जीवन बुढथापा

Breaknlinks
Breaknlinks

२०५९ सालमा शाही सेनाले गिरफ्तार गरी ४४ दिनसम्म बेपत्ता पारिएका नेपालकै कान्छा कैदी जीवन बुढथापाले चन्दननाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन्।

जुम्लाबाट काठमाडौं पढ्न गएका उनलाई शाही सेनाले आतंककारी भनी गिरफ्तार गरेको थियो। माओवादीको विचारबाट प्रभावित भएका उनी विचलित भएनन्।

‘ज्यान जाओस् तर गोप्या सूचना खोलिँदैन’ भनी लागे। परिणाम उनलाई पार्टीले जनयुद्धको भट्टीमा खारिएर स्पात भएको कार्यकर्ताको रुपमा परिभाषित गर्यो।

‘यति कम उमेरमा मेयरको टिकट पाउनु मेरा लागि गर्वको कुरा हो,’ उनले भने, ‘मेरो युद्धको पृष्ठभूमि हेरि दिएको जिम्मेवारी जनताबाट अनुमोदन गराउने सिलसिलामा छु।’

उनले जनताले नगर प्रमुखको जिम्मेवारी दिएको खण्डमा युवा पलायन तत्काल रोकिने बताए।

‘विकास निर्माणका हरेक गतिविधिमा युवाहरुको सहभागितालाई पहिलो प्राथमिकता दिनेछु,’ उनले भने, ‘युवाहरुको सहभागितालाई नै रोजगारीमा परिणत गरिनेछ।’

उनका अनुसार विकास निर्माणमा युवाहरुको सहभागिताले रोजगारी, विकास तथा समृद्धिलाई सँगसँगै लैजानेछ।

अघिल्लो निर्वाचनमा मेयर कांग्रेसले जितेको थियो भने उपमेयर माओवादीले जितेको थियो। नगरमा माओवादीको संगठन राम्रो छ।

बलियो संगठन भएको कांग्रेसबाट मेयरमै तीन जना उम्मेदवार बनेपछि यसपालिको निर्वाचन आफ्नो पोल्टामा पर्ने माओवादीको विश्लेषण छ।

‘जनताले माओवादीलाई काम गर्न सक्ने शक्तिको रुपमा बुझेका छन्,’ उनले भने, ‘संघीयता र समानुपातिक समावेशीताको नारा र त्यसलाई व्यवहारमा उतार्ने पार्टीलाई जिताउनुपर्छ भनेका छन्।’

नगरका सबैजसो दलित बस्तीमा माओवादीको संगठन राम्रो छ। त्यसमाथि दलित महिला पुर्णिमा विक (रचना) लाई नै उपमेयरको उम्मेदवार बनाएपछि दलित समुदाय माओवादीप्रति निकै सकारात्मक बनेको छ। त्यसैले पनि नगरमा जित सुनिश्चित भएको उनले बताए।

प्रकाशित मिति: : 2022-05-10 18:40:00

प्रतिकृया दिनुहोस्