असफलतालाई सफलतामा बदल्नेहरू

एउटा भनाइ छ, ‘असफलता नै सफलताको प्रतीक हो।’ यो भनाइ हालै मात्र रोल्पाको रून्टीगढी गाउँपालिका अध्यक्षमा निर्वाचित जनक पुनका लागि चरितार्थ भएको छ।

राजनीतिमा असम्भव भन्ने केही छैन् भनेर निष्ठापूर्वक जनताको सेवामा जुटेका पुन अघिल्लो निर्वाचनमा रून्टीगढी गाउँपालिका– ७ को वडाध्यक्षमा पराजित भए। वडाध्यक्षमा पराजित भएपछि निरन्तर रुपमा जनताको मन जित्न लागि परेका पुनलाई सफल हुन खास्सै समय लागेन। ‘वडामा पराजित भएपछि राजनीतिबाट बाहिरीन पनि सक्थेँ’ पुनले केही समयअघि होलेरीमा आयोजित कार्यक्रममा भनेका थिए,‘तर म राजनीतिबाट भाग्न सकेन।’

वडाको असफलतालाई सफलतामा परिणत गर्न निरन्तर लागेका पुन जनताको हरेक दुःख–सुःखमा साथ दिन पुग्थे। नेपाली कांग्रेस रून्टीगढीको सभापति समेत रहेका पुनले यो ५ वर्षको अवधिलाई भरपुर उपयोग गरे। कहिले काठमाडाैँको ईटाभट्टा त कहिले दाङका गल्ली–गल्लीमा गाउँपालिकाबासीहरुको दुःख बुझ्न पुगे। रून्टीगढीको कुनै गाउँ छैन्, कुनै टोल छैन् जहाँ उनी नपुगेको। चुनाव लागेपछि मात्र नेताहरु गाउँ आउछन् भन्ने गुनासोलाई सम्बोधन गर्दै हरेक गाउँ पुग्ने उनै पुनलाई यसपटक रून्टीगढीबासीले अत्यधिक मतका साथ सिङ्गो गाउँपालिका हाँक्ने जिम्मेवारी दिएका छन्। पुनको यो सफलतालाई अन्य नेता र पार्टीलाई पनि जनताको सेवामा खट्नुपर्ने रहेछ, जनताको मन जितेर मात्र मत पाइदो रहेछ भन्ने एउटा पाठ सिक्ने अवसर बनेको छ।

कसरी पूरा गर्लान त जिम्मेवारी

विगत ५ वर्षलाई पूरै जनताको सेवामा समय खर्चेका पुनले अबको ५ वर्ष गाउँपालिकामा थुप्रै काम गर्नुपर्ने छ। जनताको तमाम समस्यालाई समाधान गर्न विशेष योजना बनाई काम गर्नुपर्ने भएकाले सबैको साथ सहयोग र सल्लाहमा गाउँपालिका सञ्चालन गर्नुपर्ने देखिन्छ। हरेक बस्तीमा पुग्दा र ईटाभट्टामा पुग्ने मजदूरको समस्यालाई नजिकबाट बुझेकाले पनि पुनले गाउँमै रोजगारी सिर्जना गर्ने र विपन्न, गरिब जनतालाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रम तथा बजेट निर्माण गर्नेमा रून्टीगढीबासीहरु विश्वस्त रहेका छन्।

खत्री पनि अर्काे उदाहरण

पुनसँगै निर्वाचित भएका रून्टीगढी– ९ का वडाध्यक्ष चेतलाल खत्री पनि यस्तै अर्काे उदाहरण हुन्। उनी पनि गत निर्वाचनमा वडा सदस्यमा पराजित भएका थिए। सदस्यमा पराजित भएपछि वडाबासीको मन जित्न हरमग्दुर लागि परेका खत्रीले अहिले अत्यधिक मतका साथ वडाध्यक्ष बन्ने अवसर मिलेको हो। विगतका जनप्रतिनिधिले गरेका गलत कार्यलाई सच्याउदै अबको ५ वर्ष वडाबासीको सेवामा समर्पित हुने खत्रीको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-18 22:44:00

प्रतिकृया दिनुहोस्