त्रिवेणी गाउँपालिकाका एक्ला ‘बृहस्पति’

२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाको त्रिवेणी गाउँपालिकामा कांग्रेसबाट चुनाव जित्ने एक मात्र वडाध्यक्ष थिए, लेखमणि डाँगी।

डाँगीले चुनाव नजितेको भए त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा कांग्रेसबाट प्रतिनिधित्व शून्य हुने निश्चित थियो। राजनीतिमा सक्रिय डाँगी जिल्लाकै एक प्रभावशाली नेताका रुपमा चिनिन्छन्।

उनी नलडेको भए उक्त वडामा पनि अन्य दलले जित्ने अवस्था भएपछि उनी वडाध्यक्षमा लड्न तयार भएका थिए। त्रिवेणी गाउँपालिकाको ७ वटा वडा मध्ये कांग्रेसबाट प्रतिनिधित्व गर्ने उनी एक मात्र कार्यपालिका सदस्य भए पनि उनले उठाएका मुद्दा नै गाउँपालिकामा स्थापित हुने गरेको उनकै सहकर्मीहरुको भनाइ थियो।

पाँच वर्षसम्म गाउँपालिकाले गरेका हरेक काममा कहिलै पनि उनको विरोध गर्नु परेन्। बरु उल्टै उनको मुद्दाले प्राथमिकता पाउने गरेको थियो। लामो समयदेखि राजनीतिमा खारिएर आएका गाउँपालिका अध्यक्ष शान्तकुमार ओली भएकै कारण पनि काम गर्न थप सहज भएको उनी बताउछन्।

फेरि पनि निर्णायक तहमा डाँगी

वडाध्यक्ष बनेर ५ वर्षे कार्यकाल सकिँदै गर्दा डाँगीको अबको यात्रा कता भन्ने बहस सुरु भइसकेको थियो। केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन बन्दै गर्दा जिल्लामा पनि छलफल सुरु हुदै गर्दा त्रिवेणीमा पनि यसको चर्चा नहुने कुरै भएन।

त्रिवेणीमा कांग्रेस कमजोर हुँदा गठबन्धन आवश्यकता नै बनेको थियो। त्यसमा थप बल पुग्नेगरी केन्द्रको गठबन्धनले त्रिवेणीमा कांग्रेसलाई केही फाइदा नै हुने आंकलन गरिरहँदा जिल्लामा केन्द्रको अनुसार गठबन्धन हुन सकेन्, तर त्रिवेणीमा भने एमाले–कांग्रेस गठबन्धनको सम्भावना बन्दै गयो। फलस्वरुप उम्मेदवारी दर्तादेखि फिर्ता लिने समयसम्म एमाले र कांग्रेसका लागि गर या मरको अवस्था आइपुग्यो।

कांग्रेसले गाउँपालिका अध्यक्षभन्दा उपाध्यक्षमा बढी प्राथमिकता दिएर डाँगीले उपाध्यक्षमा उम्मेदवारी दिए। त्यसकै बलमा एमालले पनि गठबन्धनको व्यावहारिक सहमति गरेपछि डाँगीको उपाध्यक्ष बन्ने सम्भावना बलियो बन्यो।

अन्ततः गाउँपालिकामा ७ वटै वडाको परिणाम आउँदा फेरि पनि संयोग नै मान्नुपर्छ कार्यपालिकामा कांग्रेसबाट प्रतिनिधित्व गर्न डाँगी मात्र आए। ७ वटा वडामा ४ वटा माओवादीले जित्दा ३ वटा एमालले जित्यो तर कांग्रेसले केही वडा सदस्यमै सीमित हुन पुग्यो। अघिल्लो निर्वाचनमा ४ वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको एमालेलाई केही घाटा भएपनि आफ्नो अस्तित्व बचाउँदै एमालेले फेरि पनि त्रिवेणीको नेतृत्व गर्ने अवसर पाएको छ।

जिल्लाका १० वटा स्थानीय तह मध्ये एमालेबाट कर्ण बाँठाले मात्र स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका हुन्।

प्रकाशित मिति: : 2022-05-19 22:19:00

प्रतिकृया दिनुहोस्