मूल्यवृद्धिकाे विरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सिलिण्डरसहित प्रदर्शन 

इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मूल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ।

विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि गरेको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू सडकमा उत्रिएका हुन्।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु परेको बताए।

उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसमक्ष आग्रहसमेत गरे।

संघ सरकारले निणर्य गरेको भएपनि आम उपभोक्ता र नागरिकहरूलाई असर पर्ने गरी गरिएका हरेक निणर्यविरुद्ध प्रदेश सरकारले आवाज उठाउनुपर्ने उपभोक्ताहरूले बताए।

मूल्यवृद्धिविरुद्धको उपभोक्ताहरूको प्रदर्शनमा नागरिक समाजका प्रतिनिधि, विवेकशील साझा पार्टीलगायतका दलका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन्।

प्रकाशित मिति: : 2022-05-24 15:06:00

प्रतिकृया दिनुहोस्