भाषाकाे हिसाबले सिंजा र खलंगा नेपालकाे नमुना हाे: अध्यक्ष लवदेव अवस्थी 

भाषा आयाेगका अध्यक्ष डा. लवदेव अवस्थिले सिंजा सभ्यताकाे क्रमागत अवस्थामा नै वर्तमान नेपालकाे सभ्यता भएकाे बताएका छन्।

आइतबार भाषा आयाेगले जुम्लामा गरेकाे भाषाकाे विकास र कक्षाकाेठामा बहुभाषा शिक्षण विषयमा कार्यक्रममा उनले भने, 'जुम्लाले भाषासम्बन्धि गरेकाे कुनै पनि गतिविधिले सिंगाे नेपालकाे ध्यान केन्द्रित गर्नेछ। भाषाकाे हिसाबले सिंजा र खलंगा नेपालकाे नमुना हाे।'

उनले भाषा बेगरकाे खस सभ्यता नहुने हुनाले नेपाली सभ्यताकाे केन्द्रभाग सिंजा भएकाे बताए। 'पूर्वीय दर्शनमा जलम्, अन्नम्, शुभासितम् भनिएकाे छ। जलम् भनेकाे जल, अन्नम् भनेकाे जमिन र शुभाषितम् भनेकाे भाषा हाे,' उनले भने, 'सिंजा सभ्तामा याे सबै छ। 'सिंजामा याे सबै थियाे र छ। त्यसैले याे सभ्यताकाे केन्द्र हाे।'

उनले हालकाे अवस्थामा सभ्यताको स्थापी स्वरुपलाई कसरी अगाडि लैजाने? यसलाई पठनपाठनकाे स्तरमा कसरी लिने? महत्त्वपूर्ण सवाल रहेकाे हुनले बताए।

कर्णालीका प्रत्येक घरघरमा खस भाषा बाेलीने भएपनि पछिल्लो समय अधिकांशले माध्यम भाषा नेपाली बनेकाे चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताए। 'हामी एसएलसी दिदासम्म पनि ठेट खस भाषा बाेलिरहेका थियाैं,' उनले भने, 'तर पड्लाई काठमाडौं गएपछि हामीले बाेलेकाे भाषा बाेल्न असहज भयाे र नेपाली भाषा बाेल्न सिक्याैं। अब खस भाषालाई जाेगाइराख्न सकेजतिकाे गर्छु।'

कर्णाली क्षेत्र जाग्याे भने नेपाली भाषालाई समृद्ध बनाउन सक्ने प्रा. डा. जिवेन्द्रदेव गिरीले बताए। उनले भने, 'हामीले आफ्नाे मातृभाषा सँगसँगै नेपाली भाषालाई पनि आफ्नाे भाषा भन्नुपर्छ। नत्र नेपाली भाषा संकटमा पर्न सक्छ। नेपाली भाषा समृद्ध हुनु खस भाषा पनि समृद्ध हुनु हाे।'

उनले नेपाली भाषा साँघुरिदै गए खस भाषाकाे शिर झुक्न सक्ने र नेपनली भाषालाई संकट आउन सक्ने विषयमा सचेत हुनुपर्ने कुरालाई जाेड दिए। 'बुढा मरे, भाषा सरे भनेजस्ताे भाषा जाेगाउनै पर्छ,' उनले भने, 'पश्चिम नेपालकाे वारि डाँडा र पारी डाँडाकाे भाषा फरक छ। जुन भाषा सम्पन्नकाे उदाहरण हाे। त्यसैले भाषालाई सम्पन्न बनाउने विषयमा नयाँ पुस्ता जिम्मेवार बन्नुपर्छ।'

भाषप्रति लापरबाहा र बेप्रवाह हुँदा भाषा रुष्ट हुने हुँदा यसकाे सम्मान गर्न सक्नु पर्ने खस भाषाका जानकार समानन्द आचार्यले बताए। उनले भने, 'भाषाकाे सम्मान गर्नु हाम्राे पनि सम्मान हुनु हाे। खस भाषालाई व्यापक बनाउन र जाेगाउन हामीले डाटेलीबाट सिक्नुपर्छ। भाषा समृद्ध गर्न आफू प्रतिवद्ध हुनुपर्छ।'

उनका अनुसार कुमाउ, गडुवा आएपछि खसहरुले सांगठनिक गतिविधि गर्नपाए। दक्षिण भारतिरबाट सिंजा आउने खसहरु आर्य परम्परालाई अबलम्मन गर्थे। उनीहरुमा संस्कृत भाषाकाे प्रभाव बढी थियाे। तिब्बतबाट आउने खसहरुमा तिब्बती भाषाकाे प्रभाव बढी थियाे। तिब्बती खसहरु सर्दै सर्दै कैलाशकाे भूमिमा आए। जसले गुंगे र पुराङमा आदिपत्य जमाउन पाए भने त्यहाँ आफ्नाे भाषाकाे विकास गर्न सके।

'त्यहाँ नअटाएका खसहरु पश्चिम नेपालकाे सिंजा प्रदेशमा आइबसे। त्यहाँ घुलमिल भएका खसहरु सिंजामा राज्य संचालन गरि बसे। जसले उन्नत हुने माैकाकाे खाेजी गरिरहेका थिए,' उनले थपे, 'खारी प्रदेशमा सामन्त भएका नागराजले सिंजामा राजधानी खडा गरि राज्य संचालन गरे। त्यहाँ खस भाषाले राजकीय भाषाकाे स्वरुप ग्रहण गर्न पायाे। त्यसैले स्वदेशी विदेशी सबैले सिंजालाई खस भाषाकाे उत्पती स्थल मान्छन्।'

तथ्यांकमा समस्या देखिए पनि खस भाषालाई एउटा विरासतकाे भाषा भनी संरक्षण गरिनुर्ने भाषा आयाेगकी सदस्य उषा हमालले बताइन्।

'भाषा आयाेगले भाषाका कर्णालीमा १५ वटा परियाेजना मार्फत काम गरिरहेकाे छ,' उनले भनिन्, 'सिंजामा खस भाषाकाे वर्ण निर्धारण गरेका छाैं। स्कुलहरुमा मातृभाषामा पढाइ हुने वातावरण मिलाउँदा खस भाषा संरक्षण हुन जरुरी छ।'
 

प्रकाशित मिति: : 2022-05-30 19:46:00

प्रतिकृया दिनुहोस्