इको साहित्यलाई प्रवर्ध्दन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ। विश्व वातावरण दिवसका अवसर पारेर आइतबार (जून ५) मा महासंघले एक दिने सातौं वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गरेको हाे।
विश्व नेपाली साहित्य महासंघ दक्षिण युकेका अध्यक्ष विजय हितानकाअनुसार सन् २०१६ देखि युकेमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यसवर्ष पनि इको साहित्य उपर चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिएको हो।
‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दै आइरहेका छौँ। यस वर्ष सातौँ संस्करण भर्चुअल रूपमा जुममार्फर सम्पन्न भयो,’ कार्यक्रम संयोजक समेत रहेका हितानले भने, ‘पर्यावरण साहित्य उपर परिचर्चा गरियो। त्यस्तै, बेलायत, नेपाल, भारत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाए।’
चर्चित कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइएको थियो। तुम्खेवा दर्जन बढी राष्ट्रिय पुरस्कारले सम्मानले पुरस्कृत कवि हुन्। उनी सञ्चारिका समूह नेपालकी अध्यक्ष समेत हुन्। तुम्खेवाले जसरी प्रेमलाई यो गोलार्ध र अर्को गोलार्धमा बसेका मानिसले समान रुपमा महसुस गरे जस्तै तावरणीय विनासले ल्याउने पीडालाई बल्ल पृथ्वीका हामी सबै मानिसले बरावर महसुस गर्ने बताइन्। ‘तसर्थ त्यो पीडाबोध हुन अघिनै पर्यावरण संरक्षणमा केही गर्नपर्ने देखिन्छ,’ उनले भनिन्।
त्यस्तै, पर्यावरण र नारी केन्द्रित समालोचना पुस्तकका लेखक डा.गीता त्रिपाठीलाई विशेष अतिथि र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा निम्त्याइएको थियो।
सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ।
यस गोष्ठीमा महासंघले तयार पारेको आठ ओटा इको गीतके गीति संग्रह सार्वजनीकिकरण गरिएको यसका संयोजक साथै उपाध्यक्ष थिर थापाले बताए।
त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने छैटौँ वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरिएको छ। इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएन्। उनीहरूलाई जनही १०/१० हजार रूपैयाँ र प्रमाणपत्र समेत प्रदान गरिएको छ। गत वर्ष करिब ६ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए।
आजकै दिनमा, विश्व नेपाली सेहित्य महासंघ दक्षिण शाखाको सहकार्यमा नेपाल र भारतमा तिन छुट्टाछुट्टै पर्यावरणीय गोष्ठी सम्पन्न भएका छन।
पाठक मञ्च बुटवलले आयोजना गरेको ‘वातावरण संरक्षणमा स्थानीय चुनौती’ विषयको निबन्ध प्रतियोगिताको नतिजाअनुसार निम्न प्रतियोगीहरू उत्कृष्ट ५ मा पर्न सफल भएको पाठक मञ्च बुटवलले जनाएको छ। उत्कृष्ट पाँचैजनालाई आज विश्व वातावरणको दिन बुटवलमा जनही २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम पनि रहेको थियो।
पृथ्वीनारायण क्याम्पस पोखरामा पनि कानुन विषय अध्यनरत विध्यार्थीहरुले ‘पर्यावरणमैत्री शिक्षा आजको आवश्यकता’ विषयमा वक्तित्वकला प्रतियोगिता राखेर विश्व वातावरण दिवस मनाएका छन्। यसको संयोजन गरेका प्राध्यापक दीपक पराजुलीले विध्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए।
त्यसैगरी भारतको गुवाहटी, असममा पनि पर्यावरणीय कविता प्रतियोगिता आयोजना गरिएको संयोजक डा देवेन सापकोटाले बताए। प्रतियोगितामा ६५ वोटा इको कविता प्राप्त भएका थिए। यसको आयोजना देउराली साहित्य सामाजिक मन्च गुवाहटी र इन्द्रेणि प्रकाशन असमले गरेका थिए।
असममा पर्यावरणीय साहित्य परिचर्चा र कविता वाचनको पनि आयोजना गरिएको थियो। भर्चुअल पर्यावरण साहित्यिक कार्यक्रममा ४८ जनाको सहभागिता रहेको थियो।