नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा मोरङको उर्लाबारीमा ‘प्रथम फुड फेस्टिवल तथा साँस्कृतिक प्रबद्र्धन कार्यक्रम २०७९’ को आयोजना गरिने भएको छ।
उर्लाबारी पार्टी प्यालेसमा यही असार ३,४ र ५ गते फूड फेस्टिवलको आयोजना गरिने भएको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
संस्थाका अध्यक्ष मनिलाल श्रेष्ठले उर्लाबारी नगरपालिकासँगको सहकार्यमा जनजातिहरुको संस्कृति, संस्कार, भेषभुषा, झाँकी झल्काउने तथा परापूर्वकालदेखिको प्राकृतिक जडीबुडीसहितको खानापिनहरुको प्रवद्र्धन र बजारीकरणका लागि फेस्टिवलको आयोजना गरिएको जानकारी दिए।
सो फेस्टिवलले जनजातिहरुबीच एकताको कायम गर्न टेवा पुग्ने उनले बताए। उनले विगत लामो समयदेखि स्थानीय सरकारसँग साझेदार र सहकार्यमा पछाडि पारिएको सिमान्तकृत तथा लोपउन्मुख आदिवासीहरुको हकहितमा काम गर्दै आएको बताए।
संस्थाका सचिव नारायण चाम्लिङ राईले फेस्टिवलमा १४ जातिको प्राकृतिक जडीबुटी सहितको खानपिन तथा आहाराको संस्कारसँगैको स्टलसहित उनीहरुको भेषभूषाको प्रर्दशन गरिने बताए।
आदिवासी जनजातिहरुको खानपिनको बारेमा अन्य समुदायलाई पनि जानकारी गराउँदै आगामि दिनमा बजारीकरण गरी जिवनयापनमा समेत सहजता गराउने लक्ष्य लिएको जानकारी दिए।
संस्थाका प्रमुख सल्लाहकार रुद्रबहादुर तामाङले सबै जनजातिहरुलाई समेटेर्र एकैथलोमा समेटेर बृहत साँस्कृतिक कार्यक्रम सहित फूड फेस्टिवल गरिन लागेकोले भब्य र सब्यका साथ सफल हुने विश्वास ब्यक्त गरे। सो फेस्टिवलले जनजातिहरुमा आपसी सद्भाव र भाईचारा बढाउने उनले उल्लेख गरे।