कसरी कमाए सुब्बाले चार वर्षमै ६ करोड ?

राजधानी दैनिक

काठमाडाैँ

सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा)स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।

प्रकाशित मिति: : 2022-06-18 08:22:00

प्रतिकृया दिनुहोस्