अमेरिकाको मेरिल्याण्ड राज्यमा आजदेखि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२ सुरू हुदैछ । जुन २३ देखि २६ सम्म भौतिक र भर्चुअल माध्यमबाट हुन लागेको यो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैठौ श्रृंखला हो । महोत्सव २०१७ देखि हरेक वर्ष आयोजना हुदै आएको छ।
बिक्रम सापकोटाद्वारा निर्देशित ‘हल्कारा’ देखाएर सुरू हुने महोत्सव एरिक स्पिंकको लघु फिल्म ‘द लिप रिडर’ देखाएर समापन गरिने छ।
महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्रकर्मीहरूसँग अन्तरसंवाद पनि आयोजना गरिनेछन् । यसैक्रममा यही वर्ष विदेशी चलचित्रमा अभिनय गरेर कान्सको रेड कार्पेट नाप्न पुगेकी अभिनेत्री सुरक्षा पन्त र 'लोरी'बाट कान्समा अवार्ड जितेका अविनाशविक्रम शाहसँग भर्चुअल संवाद भएको छ ।
महोत्सवमा नेपाल, अमेरिकालगायत विश्वका १२ देशका ३८ चलचित्रको सहभागिता रहेको छ। महोत्सवका निर्णायकहरूमा नेपालका अनुप सुवेदी र अमेरिकाका पोर्सिया कोब, निना स्ट्रिच्क, रिवेका बिसमानते, भवानी राव, डेब्रा जनसन र फारिड बोजोरमेयर रहेका छन्।