छानो चुहिने भाडाको घरमा प्रहरीचौकी

राजधानी दैनिक

सीपी लोहिया

पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै समस्या ।

यो दृश्य बैतडी गोकुलेश्वर प्रहरीचौकी हो । कार्यक्षेत्र ठूलो भएकाले यहाँ कम्तीमा १० जनशक्ति आवश्यक छ । प्रहरीचौकी इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह धामी ‘चौकीघर झनै जीर्ण हुँदै गएको’ सुनाउँछन् ।

‘यहाँ गाडी वा मोटरसाइकल आउने बाटो छैन, पैदल आउने बाटोसमेत निकै साघुँरो छ,’ उनी भन्छन्, ‘भिरको बाटो छ, मदिरा सेवन गरी होहल्ला गर्ने वा आरोपित व्यक्तिलाई चौकीमा ल्याउनै समस्या छ ।’

चौकीमा थुनवा कक्ष नभएकाले सोधपुछका लागि कसैलाई राति राख्नुपरेमा पाटनस्थित इप्रकाको समन्वयमा छिमेकी दार्चुला शैल्यशिखर इप्रका पु-याउनुपर्ने बाध्यता छ ।

गोकुलेश्वर प्रहरीचौकी जाने जोखिमपूर्ण बाटोबाट गत वर्ष एक प्रहरी जवान चौलानी किनारमा खसेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठ सम्झन्छन् । उनका अनुसार घाइते जवानको उपचारमा १२ लाख खर्च भइसकेको छ ।

‘गोकुलेश्वर प्रहरीचौकीका लागि घर निर्माण, खानेपानी र बाटो अति आवश्यक छ,’ श्रेष्ठ भन्छन्, ‘अरूलाई सुरक्षा दिने निकाय आफैं असुरक्षित भएर बस्न बाध्य छ ।’

प्रकाशित मिति: : 2022-06-26 17:15:00

प्रतिकृया दिनुहोस्