अविरल वर्षाले दुःख गरेर बनाएको घर बगायो, विस्थापित सुकुमबासी बजारको टहरामा

प्रत्येक वर्ष बाढी आउँछ, तर छैन पूर्वतयारी

नयाँ पत्रिका दैनिक

चिरञ्जीवी घिमिरे

झापा गौरादह– ६ दामुनस्थित सुकुमबासी बस्तीकी मन्सो ऋषिदेवको घरमा बाढी पस्यो । सोमबार रातभरको भारी वर्षासँगै रतुवा नदी धार परिवर्तन गर्दै उनको घरमै पस्यो । दुःख गरेर बनाएको टाटीको घरको बेरा र घरमा भएका केही सामान पनि बगायो ।

उनको परिवार ज्यान बचाउन दामुना बजार आइपुगेको छ । बजारमा सागसब्जी बेच्न राखिएको टहरामा उनीसँगै ३० घर सुकुमबासीको बाढी छल्दै आइपुगेका छन् । ‘दुःख गरेर घर बनाएका थियौँ । टाटी (बेरा) र भुइँ सबै बगायो,’ उनले भनिन्, ‘घरमा खोला कुदेको छ । यो सुकुमबासी बस्तीमा यति जग्गाबाहेक अन्त कतै केही छैन ।’ 

गौरादह– ६ दामुनाको सुकुमबासी बस्तीका ३० घरमा रतुवा नदीको एउटा भंगालो बगिरहेको छ । गरिबीले आकासेपानीसमेत छेक्न नसक्ने घरमै बस्दै आएका सुकुमबासीलाई बाढीले विस्तापित बनाएको छ । सुकुमबासीको गरिबीमाथि प्राकृतिक विपत्ति आइपरेको छ । ‘घरमा कम्मरकम्मर पानी छ । भएको लत्ताकपडा पनि सबै पानीमै डुब्यो । घरमा फर्कन सक्ने अवस्था नै छैन,’ बाढीले विस्थापित जगदीश ऋषिदेव भन्छन्, ‘कहाँ बस्ने के ? के खाने चिन्ता छ ।’

प्रकाशित मिति: : 2022-06-29 13:48:00

प्रतिकृया दिनुहोस्