संखुवासभामा ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावासको फैसला

File Photo
File Photo

संखुवासभाको मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको छ।

जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको हो। संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजशवले यस्तो फैसला सुनाएको हो।

पक्राउ परेकामध्ये १७ वर्षीय एक किशोरलाई भने २५ वर्षलाई आजीवन कारावासको अवधि मानेर त्यसको दुईतिहाइ बराबर हुने करिब १६ वर्ष कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

प्रतिवादी ४ जनाबाट जनही दुई लाखका दरले जम्मा ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको श्रेस्तेदार गौतमले बताए।

प्रहरीले एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर, २८ वर्षीय लोकबहादुर कार्की, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको थियो।

नरेशबाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो। १७ वर्षीय नरेशलाई भने २५ वर्षलाई आजीवन कारावासको अवधि मानेर त्यसको दुईतिहाइ बराबर हुने करिब १६ वर्ष कारावासको फैसला गरेको छ। उनीहरू पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन्।

उनीहरुले गत २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या गरेका थिए।

योजनाबद्ध तरिकाले हत्या

हत्याको घटना योजनाबद्ध तरिकाले भएको थियो। लोकबहादुरको घरमा हत्याको योजना बनाएको पाइएको अनुसन्धानका क्रममा प्रहरीले बताएको थियो।

उनीहरु राति ८ बजेतिर मुख्य योजनाकार खड्गबहादुर कार्कीसहितका व्यक्ति लोकबहादुरको घरमा भेला भएका योजना बनाएका थिए।

योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने उनीहरुले दाउ बनाएका थिए। अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लुट्ने उनीहरुको योजना रहेको थियो।

घटनाको दिन मृतकको पिप्लेमा रहेको खेतमा अभियुक्तहरू खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत खेताला जाने कुरा पहिला नै निश्चित भएको  थियो।

योजनाअनुसार मृतक तेजकुमार बिहान खेतला बोलाउन आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमारको घरमा गई ‘लोकबहादुर अल्छी छ घरमै गएर खेताला बोलाउनु’  भनी तेजबहादुरलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरेका थिए। त्यही मौका छोपी लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुरले घर पछाडि चिर्पट बोकेर बसिरहेका थिए।

लोकबहादुरलाई बोलाएर फर्केने क्रममा योजना अनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरेपछि टाउकोमा प्रहार गरी लडाएर खड्गबहादुर र हस्त बहादुरले दाउराको चिर्पटले तेजबहादुरमाथि प्रहार गरी हत्या गरेका थिए। 

तेजबहादुरको श्रीमती र बुहारीले उनको हत्या गरेको देखेपछि उनीहरु दौडिदै आएमा थिए। लोक बहादुरले कमला कार्कीलाई प्रहार गरे। कमलाको घाटिमा हस्त बहादुरले छुरा प्रहार गरी हत्या गरे।  बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारे। त्यसपछि खडकबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेको।

मृतक रञ्जनाको शव रणबहादुर र नरेशसमेत लागेर कमलाको शव भएको स्थानसम्म पुर्याए। कमला र रञ्जनाको हत्या गरेको मृतक नाबालकहरू दिपेन र गोमाले देखे। उनीहरु घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेर मुख थुन्दै लोकबहादुरले चिर्पटले हिर्काएर हत्या गरे।

त्यसपछि पाँचै जना अभियुक्तहरू मृतकको घर गए र ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समातेर घर पछाडि लगे। गोठ नजिक लगेपछि लोकबहादुरले टाउको भित्तामा ठोक्काइदिए अनि घाँटी बटारी हत्या गरे।

पाँचै जनाको हत्या गरिसकेपछि सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकेर लोक बहादुरको घरमा गए। त्यसपछि शरीरमा लागेको रगत पखालेर छुरी बुइकलमा लुकाए, चिर्पटहरू अगेनामा डढाए र रगत लागेको कपडाहरू लुकाएका थिए।

प्रकाशित मिति: : 2022-07-05 16:22:00

प्रतिकृया दिनुहोस्