बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढ्दै

धरानका युवाहरुले थाले खबरदारी

सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको दुरुपयोग बढ्दै गएको छ।

बिदाको दिन सरकारी गाडीको अत्यधिक दुरुपयोग हुन थालेपछि धरानका युवाहरुले खबरदारी थालेका छन्।

पछिल्लो समय जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका छन्। सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिबारदेखि खबरदारी अभियान थालेका छन्।

पहिलो दिन नै उनीहरुले प्रदेश सरकारका मन्त्रीदेखि गाउँपालिकाको सरकारी गाडी लिएर हिँड्नेलाई कडाइ गरेका छन्।

शनिबार बिहान धनकुटा जाँदै गरेकी प्रदेश १ सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको मे १ झ १४३ नंम्बरको सरकारी गाडीलाई युवाहरुले भानुचोकमा रोकेर खबरदारी गरेका थिए।

धनकुटाको डाँडाबजारमा आयोजित कार्यक्रममा सहभागी हुन गएको खुलाएपछि उनीहरुले मन्त्रीको गाडी छोडेका थिए।

यसैगरी धरानका युवाहरुले सुनसरीको बर्जु गाउँपालिकाको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। आजै मात्र एक दर्जन बढी सरकारी गाडीलाई खबरदारी गरेर छाडिएको धरानका स्थानीय युवा रमेश हतुवालीले बताए।

हतुवालीका अनुसार तराईमा गर्मी बढेकाले बिदाको दिन सरकारी गाडीको प्रयोग गरी भेडेटार, नमस्ते झर्नालगायत ठाउँमा घुम्न जानेको संख्या बढ्दो छ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ। सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गर्ने गरेका छन्।

अतिआवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ।

प्रकाशित मिति: : 2022-07-16 18:07:00

प्रतिकृया दिनुहोस्