सबै व्यक्ति फरक क्षमताका हुन्छन्, विभेद नगराैं: जिसस उपप्रमुख थकाली

अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रको छैटाैँ अधिवेशन सम्पन्न भएकाे छ। अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गरेका हुन्।

उद्धाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले हरेक व्यक्ति फरक खाले क्षमता लिएर जन्मिने हुनाले अपांगताकाे आधारमा विभेद गर्न नहुने बताए।

'मैले यस क्षेत्रमा गर्नुपर्ने काममा कुनै कसुर बाँकी राख्ने छैन,' उनले भने, 'हाम्रो लडाइँ भनेकै न्याय र समानताकाे लागि हाे। सबैकाे समान अधिकारका लागि साेच्नुपर्छ।'

उनले दुर्घटनाले हाेस् या प्राकृतिक रुपमा अपांगता भएका व्यक्तिको अधिकार, रोजगारी, पुनःस्थापना र सचेतनाका कार्यक्रममा स्थानीय तहले प्रथामिकता दिनुपर्नेमा जोड दिए।

राज्यले बनाएको कानूनको स्थानीय तहले सचेतनाकाे आधारमा समान हककाे निम्ति लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन्।

उनले भनिन्,'अपांगता भएका व्यक्तिको क्षेत्रमा अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ। गाउँमै गएर स्थानीय तहको सहकार्यमा काम गर्न आवश्यक छ।'

उनले आफूले पाएकाे अधिकारकाे आधारमा स्थानीय तहले बढी जिम्मेवार हुनुपर्ने र स्थानीय प्रशासनले दिने आवश्यक सरसहयाेगका लागि आफू तयार रहेकाे बताइन्।

अपांगता पुनःस्थापना तथा विकास केन्द्रले लामो समयदेखि अपाङ्गता सवालमा संघर्ष गर्दै आएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए। 'जुम्लामा करिब ६ हजार अपांगता भएका व्यक्ति हुनुहुन्छ,' उनले भने, 'अब हामीलाई चुनावमा मात्र सम्झिने कामको अन्त्य हुनुपर्छ।'

केन्द्रका पूर्वध्यक्ष यज्ञबहादुर बुढ्थापाले संस्थाको जन्म कठिन अवस्थामा भएपनि अहिले हेर्दा राम्रो हुँदै आएको बताए। 

अपांगता भएका महिलाहरुको अवस्था अहिले पनि दर्दनाक भएकाे उपाध्यक्ष कमला बुढाले बताइन्।

'हामी अपांगता भएका महिलाहरुका अवस्थामा दयनीय छ,' उनले भनिन्, 'विभेद कम हुन सकेकाे छैन। समान अधिकारकाे लडाइँ लडिरहनुपर्नेछ।'

पुन:स्थापना केन्द्रको चुनावीसाधारण सभामा जिल्लाभरका समूहका सदस्य, प्रतिनिधि र साधारण सदस्यहरुको उपस्थिति रहेकाे महासचिव रामकृष्ण न्यौपानेले जानकारी दिए।

अधिवेशनले न्याैपानेकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकाे छ। समितिकाे उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा बिजकली महतारा, काेषाध्यक्षमा रजना बुढा निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2022-07-28 07:37:00

प्रतिकृया दिनुहोस्