दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली

राजधानी दैनिक

सीपी लोहिया

बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या गरे ।

बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो । ‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।

चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ ।

लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसर्ईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याैं । त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् ।’

प्रकाशित मिति: : 2022-07-29 17:38:00

प्रतिकृया दिनुहोस्