प्रहरी निर्वाचन सुरक्षामा जुटिसक्यो : प्रहरी प्रमुख सिंह (भिडियोसहित)

प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा प्रहरी जुटेको बताएका छन्।

प्रहरी महाननिरीक्षक नियुक्त भएको १०० दिन पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी १०० दिनमा भए गरेका कार्य तथा निर्वाचन तयारीबारे प्रहरीले थालेको थालनिका बारेमा जानकारी गराएका हुन्।

स्थानीय निकाएको निर्वाचन शान्तिपूर्ण सकिएको भन्दै आईजीपी सिंहले आगामी निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न प्रहरीले योजना थालिसकेको बताए।

एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायीकताप्रति खुसी व्यक्त गर्दै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताए। निर्वाचनको सुरक्षा व्यवस्था गर्न जिल्लादेखि केन्द्रसम्म निर्वाचन सेल बनाइसकेको समेत आईजीपी सिंहले बताए।

त्यसैगरी निर्वाचनको थप सुरक्षाका लागि म्यादी प्रहरी भर्ना प्रक्रियाका बारेमा पनि छलफल भइरहेको उनले बताए। ‘कति म्यादी प्रहरी राख्ने भन्ने बारेमा अहिले एकिन भएको छैन तर स्थानीय निकाएको निर्वाचन ताकभन्दा बढी नै भर्ना लिनुपर्ने हुन्छ,’ आईजीपी सिंहले पत्रकार सम्मेलनमा भने।

त्यसैगरी उनले निर्वाचनमा कुनै पनि मतभेत नराखी प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने बताए।

त्यसैगरी आईजीपी सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागुसमेत गरिएको उल्लेख गरे। मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने बताए।

प्रकाशित मिति: : 2022-08-11 18:12:00

प्रतिकृया दिनुहोस्