पहिलाे दिन गाईजात्रा लागेसँगै जुम्लामा जात्रा सुरु (भिडियोसहित)

जुम्लामा लामो समयसम्म सञ्चालन हुने जात्रा सुरु भएको छ। 

गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका हुँदै राम नवमीकाे दिन सकिन्छ। पहिलो दिन गाईजात्रा निकालिएकाे जात्रा समितिका सचिव धनराज सुनारले बताए। 

'दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्म शान्तिको कामना गर्न गाईजात्रा पर्व मनाउन सुरु गरिएकाे हाे,' उनले भने, 'जुम्ला उपत्यकामा नेवार समुदायकाे आगमन सँगै याे चलन यहाँ भित्रिएकाे पाइन्छ।'

यसपाली चन्दननाथ नगरपालिका विजयनगरबाट स्वर्गीय लालबहादुर थापा र श्रीकृष्ण टोलका स्वर्गीय मिनबहादुर सुनारको घरबाट गाईजात्रा निकालिएको जात्रा समितिका काेषाध्यक्ष महेन्द्र कार्कीले बताए।

'एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यकाे सम्झना र चिन्ता दुर गर्न मानिसलाई गाईको रुपमा सिंगारिन्छ,' उनले भने, 'गाईकाे पछाडि साना केटाकेटीलाई बाच्छाकाे रुपमा सिंगारिने जात्रा नै गाइजात्रा हाे।' 

बजार परिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ।

लिच्छविकालमा मल्ल राजप्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए। त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ।

यसरी सुरु भएकाे गाइजात्रा जुम्लामा वि.सं १९५३ सालबाट लगातार मनाइदै आएकाे छ।

मृतकका घरबाट निकालिएको गाईलाई मुख्य बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन गरि मनाइन्छ। 

गाईजात्रामा जिल्लाको विकास, राजनैतिक, सांस्कृतिक र आर्थिक पक्षसँग सम्बन्धित रहेर व्यांग्य गरिँदै आएको कोषाध्यक्ष कार्कीले बताए।

पछिल्लो समय गाइजात्रा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित व्यंग्याकाे प्रतिबिम्ब समेत हुँदै आएकाे छ।

जात्रामा संभावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ डीएसपी नरेन्द्र चन्दले बताए। 

'जात्रामा मानिसको भिड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ,' उनले भने, 'श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै जात्रालाई शान्त रुपमा सम्पन्न गर्न पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरेका छाैं।' 

जात्रा लक्षित गरि बजारमा खानेपानी र प्राथमिक स्वास्थ्य उपचारकाे बन्दाेबस्त गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताइन्।

प्रकाशित मिति: : 2022-08-12 20:41:00

प्रतिकृया दिनुहोस्