रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ।
संस्थाको ३० औँ वार्षिकोत्सवको समारोहमा रु आठ हजार राशिको उक्त पुरस्कार साहित्यकार विकल्पलाई समर्पण गरिएको हो।
नेपाली भाषा, साहित्यको उन्नयनमा पुर्याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए। समारोहमा साहित्यकार विकल्पले उक्त पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरे।
पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’,मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’,गजल सङ्ग्रह ‘लालीगुराँस फूल्ने मन’ लगायत कृति प्रकाशित छन्।
उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन्। यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भएका थिए।
विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गरेका हुन्। संस्थाले विसं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो।
सोही समारोहमा बालमन्दिर आधारभूत र रुद्रेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको संस्थाले जनाएको छ।
पुरस्कार पाउनेमा बालमन्दिर आविमा कक्षा ५ मा पढ्ने अमृत परियार, अस्मिता आले र रुद्रेपिपल मावि कक्षा ८ मा अध्ययनरत नन्दनी शाह, किस्मत सुवेदी र नारायण पौडेल रहेका छन्। विसं २०५० मा स्थापित उक्त संस्थाले बर्सेनि साहित्यकर्मी र विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ।