धर्मपुत्री बनाएर विदेश लैजान खोज्ने बेलायती नागरिकको नेपाल 'कनेक्सन' : ८ वर्षमै ४० पटकसम्म आउजाउ

 कालीकोटकी १५ वर्षीया नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने तीन जना बेलायती नागरिकविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अध्यागमन कार्यालयका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको पुष्टि गरे। 

पक्राउ परेका म्याथ्यु विलियम हर्ले, लुइजा जेन हर्लेसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलयबाट दुई दिनको म्याद थप गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार म्याथ्यु विलियम हर्ले पछिल्लो ८ वर्षमा ४० पटक नेपाल आएका छन्। सन् २०१४ देखि हालसम्म उनी ४० पटक नेपाल आएको र कुनै बेला दुई दिनमै पनि फर्किएको रेकर्ड देखिएको प्रहरी स्रोतले अन्‍नपूर्णलाई बतायो। 

'८ वर्षमै यति धेरैपटक किन नेपाल आयो होला भन्ने रेकर्डले हामी अचम्मित छौं। त्यसमाथि धर्मपुत्री बनाएर लैजाँदै गर्दा पक्राउ परेका छन्। हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

प्रकाशित मिति: : 2022-08-22 06:19:00

प्रतिकृया दिनुहोस्