सोलुखुम्बु : २०४८ देखि चुनाव लड्दै आएका वृद्ध नेतादेखि युवासम्म आकांक्षी

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि भइरहेको छ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादीसँग वाम गठबन्धन गरेर देशको पहिलो शक्ति बनेको एमालेविरुद्ध अहिले कांग्रेस, माओवादीसहितको गठबन्धन छ। सबै पार्टीका नेताहरू चुनावी माहोल आफ्नो पक्षमा पार्न लागिपरेका छन्।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको साेलुखुम्बुमा २०४८ सालदेखि चुनाव लड्दै आएका वृद्ध नेतादेखि युवा नेतासम्म चुनावी मैदानमा उत्रिने तयारीमा छन्। साेलुखुम्बुमा चुनावी चहलपहल पनि सुरु भएको छ। सत्ता गठबन्धन दलमा भने सिट बाँडफाँटको सकस देखिन्छ।

गठबन्धन दलको सिट बाँडफाँट कार्यदलमा भएको भनिएको प्रारम्भिक सहमतिअनुसार ०७४ सालमा जसले जहाँबाट जितेको थियो, त्यो क्षेत्र त्यही पार्टीलाई दिने भनिएको छ। सो सहमति पालना भए गठबन्धनबाट माओवादीको भागमा पर्ने देखिन्छ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई एमाले-माओवादीको वाम गठबन्धनका माओवादी उम्मेदवार हेमकुमार राईले पराजित गरेका थिए। राईले २० हजार ४७४ मत ल्याउँदा केसीले १७ हजार २९४ मत मात्र पाएका थिए।

अघिल्लो निर्वाचनका प्रतिस्पर्धी अहिले सत्ता गठबन्धनमा भएकाले सोलुखुम्बुमा सीट बाँडफाँटमा समस्या पर्ने देखिन्छ। एउटै मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पूर्वमन्त्री बलबहादुर केसी र हेमकुमार राईमध्ये एक जनाले मात्र टिकट पाउने अवस्था छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेका केसी देउवा प्रधानमन्त्री हुँदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।

६ पटकसम्म संसदीय निर्वाचनमा उम्मेदवार भइसकेका केसी तीन पटक मन्त्री भएका छन्। बहुदल यताको सबै संसदीय निर्वाचनमा सोलुबाट उम्मेदवार बन्दै आएका केसी २०४८, ०५१, ०५६ र ०७० सालको निर्वाचनमा विजयी भएका थिए भने ०६४ र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए।

यता माओवादी केन्द्रका हेमकुमार राईले पनि तीव्र कसरत गरिरहेका छन्। अघिल्लो निर्वाचनमा आफ्नो पार्टीले जितेका कारण संघीय सांसद आफ्नो भागमा पर्नुपर्ने माओवादी केन्द्रको अडान छ। स्थानीय तहमा आफ्नो पार्टी पहिलो भएका कारण आफूले पाउनुपर्ने तर्क कांग्रेस नेताहरुले गरिरहेका छन्। यसले गर्दा सोलुखुम्बुमा गठबन्धनका लागि भागबण्डा  निकै पेचिलो बन्ने देखिन्छ।

२०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका कांग्रेसका प्रकाशसिंह कार्की र आङ्गेलु शेर्पा पनि उम्मेदवार बन्ने दौडमा छन्। उनीहरुले बलबहादुर केसीलाई समानुपातिकमा बस्न आग्रह गर्दै आइरहेका छन्।

एमालेबाट प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रमुख दावेदार हुन्। प्रदेश नं. १ नेकपा एमाले संसदीय दलका सचेतकसमेत रहेका राजभण्डारी एमाले सोलुखुम्बुका प्रभावशाली नेता हुन्।

सोलुखुम्बु प्रदेश ‘ख’ बाट २०७४ सालमा राजभण्डारी विजयी भएका थिए। एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका राजभण्डारीले कांग्रेसका आङ्गेलु शेर्पालाई पराजित गरेका थिए। उनले १० हजार ३८७ मत ल्याउँदा शेर्पाले ७ हजार ९२९ मत मात्र पाएका थिए।

एमालेले यसपटक राजभण्डारीलाई अघि सार्ने एमालेका एक केन्द्रीय सदस्यले बताए। उनले भण्डारीले मात्र गठबन्धनलाई पराजित गर्न सक्ने दावी गर्दै राजभण्डारीको विकल्प खोज्न नहुने बताए।

यस्तै प्रदेश ‘क’ बाट निर्वाचित उत्तमकुमार बस्नेत पनि प्रतिनिधिसभाका आकांक्षी हुन्। २०७४ मा माओवादीको  भागमा संघीय निर्वाचन परेपछि एमालेले प्रदेशका दुबै क्षेत्र पाएको थियो। बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका थिए। बस्नेतले १० हजार ६६७ मत ल्याउँदा कार्कीले ८ हजार ८४६ मत ल्याएका थिए।

नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यको मन्त्रीमण्डलमा सचेतक राजभण्डारीले मन्त्री पद अस्वीकार गरेपछि बस्नेतलाई राज्यमन्त्रीको चिठ्ठा परेको थियो।

एमालेबाट राष्ट्रियसभामा निर्वाचित सोनाम ग्याल्जेन शेर्पा पनि उम्मेदवार बन्ने दौडमा छन्। तर, उनको राष्ट्रियसभाको अवधि नसकिएकाले उनले पाउने सम्भावना कम रहेको एमाले नेताहरु बताउँछन्।

स्थानीय तहको मत परिणाम

८ स्थानीय तह रहेको सोलुखुम्बुको स्थानीय तहको मत परिणामका आधारमा कांग्रेस बलियो देखिएको छ। कांग्रेसले ५ पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ। एउटा मात्रै नगरपालिका सोलु दुधकुण्ड नगरपालिकासहित कांग्रेसले नेचासल्यान, महाकुलुङ, सेताङ र लिखु पिके गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ।

एमालेले खुम्बु पासाङल्हमु गाउँपालिकामा प्रमुख-उपप्रमुख र माप्य दुधकोसीमा प्रमुख जितेको छ। माओवादीले घुलुङ दुधकोसी गाउँपालिकामा प्रमुख-उपप्रमुख र माप्य दुधकोसी गाउँपालिकामा उपप्रमुख जितेको छ।

५१ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले १८ हजार ५३९ मतसहित २३ वडामा वडाध्यक्ष जितेको छ। एमालेले गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा १६ हजार ५९७ मत प्राप्त गरेको छ। एमालेले १८ वडामा वडाध्यक्ष जितेको छ। यस्तै माओवादीले १२ हजार ४२५ मतसहित ९ वडामा वडाध्यक्ष जितेको छ।

प्रकाशित मिति: : 2022-08-28 22:12:00

प्रतिकृया दिनुहोस्