प्रतिनिधिसभा निर्वाचन : मोरङ ३ मा शर्मा सर्वसम्मत, ६ मा कोइरालासहित ४ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।

मोरङ क्षेत्र नम्बर १ बाट कांग्रेसले चार जनाको नाम सिफारिस गरेको छ। संविधानसभा सदस्यसमेत रहेको मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस भएको छ।

मोरङ २ बाट बहालवाला संसद डा. मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका ऋषिकेश पोखरेललाई मिनेन्द्र रिजालले पराजित गरेका थिए।

मोरङ ३ बाट भने डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ। शर्मा अघिल्लो निर्वाचनमा उम्मेदवार थिए। उनी एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए।

क्षेत्र नम्बर ४ बाट ५ जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रबाट महेश आर्चाय, भीम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट आचार्य एमाले-माओवादीबाट उम्मेदवार बनेका माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए।

अमृत अर्यालको नाम क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएको छ। उनीसँगै यो क्षेत्रबाट हसन अन्सारीको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट अर्याल पराजित भएका थिए। २०७४ को निर्वाचनमा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए।

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालको निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नम्बर ६ मा चार जनाको नाम सिफारिस भएको छ। यस क्षेत्रबाट कोइरालासँगै डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ। यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग कोइराला पराजित भएका थिए।

प्रकाशित मिति: : 2022-09-04 14:09:00

प्रतिकृया दिनुहोस्