कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा इमर्जेन्सीबाहेक सबै सेवा बन्द

भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी विभागमा प्रतिष्ठानमै कार्यरत चौथो तहका कर्मचारी धनबहादुर शाहीबाट ड्युटीमा रहेका डा.करण साह कुटिइन्छन्।

घटनालगत्तै सीसीटिभी फुटेज सार्वजनिक हुन्छ। उक्त दृश्यमा कर्मचारी शाहीले डा.साहलाई हात र लात दुबैले कुटेको देखिन्छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनतर्फका कर्मचारी शाहीले आफ्नो छोराको टाँका नकाटिदिएको भन्दै ईमर्जेन्सीमा खटिएका डा.साहलाई कुटेका थिए।

ड्युटीमा रहेका चिकित्सक वा स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यवहार गरेमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही हुने कानुनी प्रावधान छ।

उक्त ऐनले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यवहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान गरेको छ।

डा.कुट्ने शाही हाल त्यही मुद्दा खेपिरहेका छन्। तर, पछिल्लो समय घटनाले अर्को मोड लिएको छ। डा.साह कुटिनु भन्दा अगाडिको सीसी टिभी फुटेज सार्वजनिक गरि डाक्टर विरुद्ध बाल अधिकार हननको मुद्दा लगाइएको छ।

अदालतले डा.साहका नाममा पक्राउ पुर्जी जारी गरेपछि झुट्ठा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। आन्दोलनकै क्रममा चिकित्सकले  इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्। 

डा.साहलाई लात र हातले कुटेको फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा उल्टै कुटाइ खानेलाई नै पक्राउ पुर्जी जारी घटनाले आफूहरु आश्चर्यचकित भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए।

‘सीसीटीभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा कुटाई खाएका डाक्टर नै जेल जानुपर्ने कस्तो न्याय प्रणाली हो?,’ उनले भने, ‘इमर्जेन्सीमा टाँका काट्ने गरिदैन। अनर्गल प्रसार गरी बाल अधिकार सम्बन्धि झूटा मुद्दा दायर गरेर घटनालाई अतिरञ्जित गरिनु दोसी उम्काउने प्रपञ्च मात्रै हो।’

चिकित्सकहरुले निकालेको विज्ञप्तिमा, ‘भयपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको’ भनि उल्लेख गरिएको छ।

प्रहरीको अनुसन्धान तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको छानबिन समितिलाई सघाउन र दोषीलाई उम्कन नदिन दबाब दिने गरी शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम जारी राखेको अवस्थामा कटाई खाने डाक्टरले नै मुद्दा खेप्नुपर्ने हो भने सेवा दिन नसकिने उपाध्यक्ष डा. थालीने थपे।

‘दोषी उम्कन नपाउन भनी हामीले आन्दोलन जारी राख्नुपरेको छ। तर अब कुटाई खाएका डाक्टरले नै मुद्दा खेप्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘कर्णाली जस्तो विकट क्षेत्रमा काम गर्न आउने चिकित्सक कुटिनु पर्ने र कुनै प्रकारको कानुनी उपचार नपाई उल्टै मुद्दा खेप्नुपर्ने हो भने यस्तो ठाउँमा कसरी सेवा दिन सकिएला?’

प्रतिष्ठानमा डाक्टर कुटिएको विरोधमा नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन, कालिकोट जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, विपिकेएचएस धरान, नेपाल चिकित्सक संघ जनकपुर शाखा, सरकारी चिकित्सक संघ नेपाल भरतपुर शाखा, जिल्ला अस्पताल दार्चुला, नेपाल डेन्टल एसोसिएसन, नेपाल चिकित्सक संघ, जिल्ला अस्पताल बझाङ, वीर अस्पताललगायतका चिकित्सक संघ, संगठन तथा स्वास्थ्य संस्थाहरुले विज्ञप्ति निकालेर यस अघि नै विरोध जनाएका छन्।

‘ड्युटीमा खटिएको एप्रोन लगाएको चिकित्सक असुरक्षित हुनुले सिंगो स्वास्थ्य क्षेत्र तरंगीत बनिरहेको छ’ प्रतिष्ठानको सर्जरी विभागका विशेषज्ञ डा.सूर्यमान लिम्बूले भने,‘अब दोषीलाई कारबाही र पीडितलाई न्यायको साटो कुटाई पनि आफैले खानुपर्ने र जेल पनि आफै जानुपर्ने हो भने कसरी सेवा दिन सकिन्छ?’

प्रकाशित मिति: : 2022-09-07 08:15:00

प्रतिकृया दिनुहोस्