करणी, उजुरी र ब्रेकिङ न्युजको हतारो

गत वर्ष बेल्जियमको गेन्ट सहरमा एक १४ वर्षीय युवतीलाई ५ जना युवाहरुले चिहान घारीमा लगेर बलात्कार गरे। बलात्कारसँगै उनीहरूले भिडियो खिचेर पोर्न साइटमा पनि हालिदिए। घटना भएको दुई दिनपछि ती युवतीले आत्महत्या गरिन्। पछि बेल्जियम प्रहरीले दोषी ५ जनालाई पक्राउ गर्यो र जेल चलान गर्यो।

माथिको घटनाले विश्वभरिका सञ्चार माध्यममा राम्रो स्थान पाएको थियो। बीबीसी, सीएनएन जस्ता प्रसिद्ध मिडियाले राम्रो स्थान दिएर समाचार छापे। बेल्जियमका स्थानीय पत्रपत्रिका, टेलिभिजनले पनि प्रमुखताका साथ समाचार सम्प्रेषण गरे। तर कुनै सञ्चार माध्यमले पीडित र पीडकको पुरा परिचय दिएनन्,लेखेनन्। बरु उनीहरूले फोटो चिहान घारीको हाले, पीडित-पीडक दुवैको उमेर मात्रै लेखे। पीडित युवतीको आमासंग गफ गरेको लेखे तर उनको नाम उल्लेख गरेनन्।

पछिल्लो समय नेपालमा बलात्कारका घटनामा तीव्र वृद्धि भएको छ। राजनैतिक नेतादेखि कलाकारसम्म मुछिएका छन्। हिजो मात्रै एक कलाकारलाई यही मुद्धामा अदालतले सजाय सुनाएको छ। उनलाई नाबालिका गायिकामाथि करणी गरेको आरोप लागे पनि अदालतले यौन दुर्व्यवहारमा दोषी देखाउँदै सजाय सुनाएको छ। कलाकारमाथि पीडित गायिकाले दिएको उजुरीपछि नै पीडित-पीडक दुवैको फोटोसहित नेपालका प्रमुख मिडियाहरुले समाचार लेखे। हुँदा-हुँदा प्रहरीमा परेको जाहेरीसमेत सार्वजनिक भयो।

त्यस्तै गरेर नेपालका चर्चित क्रिकेट खेलाडीले करणी गरेको आरोपमा एक नाबालिकाले गौशाला प्रहरीमा उजुरी दिइन्। उजुरीसँगै नेपाल प्रहरीको उच्च स्रोतलाई हवाला दिँदै नेपालका सबै राष्ट्रिय स्तरका सञ्चार माध्यमले ब्रेकिङ न्युज हाले। कसैले उक्त खेलाडीको फोटोसहित समाचार हाले भने कसैले आँखा मात्रै छोप्ने गरेर फोटो हालेका छन्। दोषी भनिएका खेलाडी अहिले देश बाहिर छन्। अझ चाख लाग्दो कुरा के छ भने जाहेरीअनुसार भनेर जाहेरीमा भएको कुरा समाचारमा उल्लेख गरेका छन्।

करणी जस्तो संवेदनशील विषयमा नेपालका मिडियाहरु कसरी प्रस्तुत भइरहेका छन् भने यो सानो उदारहण मात्रै हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमको तुलनामा गोपनीयताको विषयमा नेपाली सञ्चार माध्यमहरु हरेक समय चुकेकै छन्। ब्रेकिङ न्युज दिने दौडमा हामीले गोपनीयता, उनीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि सिधै प्रहार गरिरहेका छौं। उनीहरूलाई सिधै दोषी देखाउँदै प्रहरीमा भएको जाहेरीसमेत बाहिर ल्याउने काम गरेका छौं। यो सरासर गलत देखिन्छ।

बेल्जियमको राष्ट्रिय स्तरको पत्रिकामा काम गर्ने एक पत्रकार यस्ता संवेदनशील विषयमा पत्रकार स्वयं आफैं सजग भएर कलम चलाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यहाँ कुनै अपराधीको समेत गोपनीयता सम्मान गर्नु पर्दछ। उसको फोटो, पुरै विवरण हालेर समाचार लेख्न पाइँदैन। अझ पछिल्लो समयमा व्यक्तिगत गोपनीयताको संरक्षणसम्बन्धी नियमले अझै दायरामा बाँधेको छ।’

करणी वा यौन दुर्व्यवहारमा परेकी पीडितले उजुरी दिन्छिन्। उजुरीपछि त्यो सूचना लिक हुन्छ। सञ्चारकर्मीलाई आफ्नो पहुँचअनुसार प्रहरीसंग सम्पर्क गरेर ब्रेकिङ समाचार हाल्न हतारो हुन्छ। तर यहाँ सूचना लिक गर्ने तथा जाहेरीबारे बताउने प्रहरी कार्यालयको मुख्य कमजोरी पनि देखिन्छ। प्रहरीले गोपनीयताका साथ काम कारवाही अगाडि बढाउने हो भने ब्रेकिङ न्युज बन्ने प्रक्रियामा पक्का पनि कमी आउने थियो।

‘करणी घटनामा पीडित पीडक दुवैको आफ्नै व्यक्तिगत जीवन हुन्छ। उनीहरूको आफ्नो परिवार छ। त्यसलाई हेरेर गोपनीयता सम्मान गर्नुको साटो उनीहरूको गोपनीयता भंग गरिदिने काम नेपाली मिडियाहरुले गरिरहेका छन्। जुन निकै खराब पक्ष हो’, युनिभर्सिटी अफ ओटावाका प्रोफेसर भानुभक्त आचार्य भन्छन्, ‘यस्ता घटनाहरुमा मै हुँ भन्ने नेपाली पत्रकार, संस्था नराम्रोसंग चुकिरहेका छन्। उनीहरू आफैं अदालत, न्यायाधीश बनेर काम गरिरहेको देखिन्छ। जुन सरासर गलत छ।’

त्यस्तै गरेर यसै विषयमा बेलायत निवासी पत्रकार तथा लेखक नारायण गाउँले लेख्छन्, ‘यस्तो गम्भीर प्रकृतिको मुद्दामा गोपनीयता भन्ने केही हुँदैन? फरेन्सिक होस् या साक्षीगत,  अति सानो प्रमाण पनि मुद्दाका लागि निर्णायक बन्न सक्ने अवस्थामा सबै कुरा यसरी विज्ञप्तिमार्फत सार्वजनिक गर्दा प्रमाण हेरफेर या नष्ट हुने अथवा मुद्दाको दिशा परिवर्तन हुने सम्भावना हुँदैन? ‘पीडक’ भनिएका व्यक्ति देश बाहिर रहेको भन्ने बुझियो।

यस्तो अवस्थामा देश बाहिरै लुकेर केही समय न्यायिक प्रक्रियामा विलम्ब गराउने काम भयो भने त्यसको जिम्मा कसले लिने? अझ न्यायिक निकायबाट प्रमाणित नहुँदासम्म त आरोपीको पनि डिग्निटी रक्षा गर्ने काम स्वयं प्रहरीकै होइन? यदि आरोप प्रमाणित भएन या गलत सावित भयो भने सम्बन्धित व्यक्तिको सामाजिक जीवनमा पुग्ने अपूरणीय क्षतिको जिम्मा कसले लिने? र यदि सामाजिक-आर्थिक या शक्तिको प्रलोभन अथवा डरमा प्रमाणहरू हेरफेर गरेर मुद्दा कमजोर बनाइयो र पीडक उम्किने अवस्था आयो भने प्रहरीले जिम्मा लिने कि नलिने? नेपाल प्रहरी के यो अभ्यास पेशागत मूल्यमान्यता र कानुनी मर्यादाभित्रै रहेर गर्दै आइएको हो?’

नेपालमा करणी तथा यौन दुर्व्यवहारका घटना दिन प्रतिदिन घट्दै गएका छन्। सूचना प्रविधिको विकाससँगै घटनाका पीडित-पीडकमाथि फाइदा/बेफाइदा दुवै हुँदै गएका छन्। अझ अनलाइनमा समाचार आएपछि सामाजिक सञ्जालमा हावासरी फैलनु सामान्य नै भयो। घटनामा दोषी देखिएका दुवैको गोपनीयता सम्मान गर्दै अगाडि बढ्न सके नेपाली सञ्चार माध्यमको साख बढ्नेमा दुई मत नै छैन।

प्रकाशित मिति: : 2022-09-07 22:10:00

प्रतिकृया दिनुहोस्

    Great thoughts. We must excel advocacy for the protection of individual privacy from media trials.

    • एक बर्ष अगाडि
    • Bhanu Bhakta Acharya