पाल्पामा किट अभावले डेंगु परिक्षणमा समस्या  

 मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ।

एकातिर कोरोना संक्रमणको जोखिम कायमै छ भने अर्कीतर्फ डेंगुको बढ्दो प्रकोपले उपचारको लागि बेड र किटको अभाव देखिएको छ।

पछिल्लो समय पाल्पामा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मंगलबारसम्म ६७ जनामा डेंगु संक्रमण देखिएको हो।

जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउनेमा डेंगु संक्रमण देखिएको छ।

केही दिनयता दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चाप समेत यहाँका अस्पतालहरुमा बढेको छ।

अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालले जनाएकाे छ।

डेंगुसँग मिल्दो लक्षण भएका विरामी बजारमा भन्दा गाउँघरमा धेरै भए पनि परिक्षणको दायरामा नआउँदा डेंगु संक्रमितको संख्या कमदेखि पनि डेंगु प्रकोपको अवस्था डर लाग्दो रहेको यूनाईटेड मिसन अस्पताल तानसेनका प्रशासन शाखा प्रमुख जिवन भट्टराईले बताए।

जिल्लामा डेंगु संक्रमणको प्रकोप दिनानु दिन बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

भदौ महिनामा मात्र जिल्लामा करिब ५० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ।

जिल्लाका १० स्थानिय तह मध्ये रम्भा र पूर्वखोला गाउँपालिका बाहेक बाँकी ८ वटै पालिका सहित छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँचि र स्याङजा जिल्लाका डेंगु संक्रमितको समेत पाल्पामा उपचार भइरहेकाे छ।

जिल्लामा डेंगु संक्रमण बढ्दै गए पनि स्वास्थ्य कार्यालयमा संक्रमण पत्ता लगाउने किटको भने अभाव छ। किट नहुँदा लक्षण देखिएकाहरुको समेत परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले स्वीकार गरे।

जिल्लाका सरकारी अस्पतालहरु पाल्पा अस्पताल, रामपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सहित जिल्लाका १० वटै पालिकाका स्वास्थ्य संस्थामा डेंगुको परीक्षण नै नहुँदा सेवाग्राहीले निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन्।

प्रकाशित मिति: : 2022-09-07 17:43:00

प्रतिकृया दिनुहोस्